रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँख गाउँमा परम्परागत रूपमा लाग्दै आएको पापिनी मेलाकाे मुख्य आकर्षण विवाह यो वर्ष पनि भएको छ । सोमबार राती दुई गाउँका किशोरी किशोरी बिचमा विवाह भएको हो । साँख गाउँको बिचमा दह छ । यही तल पट्टीको गाउँलाई तलिगाउँ र माथि पट्टीको गाउँलाई माथि गाउँ भनिन्छ । यी तलिगाउँ र माथिगाउँका किशोरीका बिचमा हरेक वर्ष सबै रित पुर्याएर विवाह गरिदिने प्रचलन रहेको छ । यो विवाहलाई पापिनी विवाह भन्ने गरिन्छ । यो वर्ष माथि गाउँमा बेहुली भित्राइएको छ । अघिल्लो वर्ष तलिगाउँमा बेहुली लगिएको थियो । यो क्रम हरेक वर्ष पालो पालो सञ्चालन हुने गरेको छ ।
यो विवाह हेर्न रुकुम पश्चिमका विभिन्न ठाउँ सहित रुकुम पूर्व, रोल्पा, सल्यानबाट समेत मान्छे आउने गरेको स्थानीय ६० बर्सिया मनकला थापाले बताउनुभयो । बेहुला बेहुली दुवै किशोरी हुन्छन् । किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा श्रृंगारेर चलिआएको रित अनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रित अनुसार छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजा सहित धूमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ । सोमबार साँझ माथि गाउँबाट जन्ती सहित गएका दुलाहा पक्षले तलिगाउँबाट दुलही ल्याएर माथीगाउँ आएका थिए ।
विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसीयालीका रूपमा यो नाच उनै पापिनीहरुले नाच्छन् । लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षण मध्येको एक यो नाच हो ।
स्थानीय तह बनेपछि भने पापिनी मेलालाई व्यवस्थित बनाउँदै लगिएको छ । दहलाई सुरक्षित राख्न चारै तर्फबाट घेरा बार, दह आसपास प्रतीक्षालय लगायत विभिन्न संरचना निर्माण गरिएको छ । पहिले मेलामा हुने विवाह खर्च बाटो हिँड्ने बटुवाबाट एक दुई रुपैयाँ सङ्कलन गरेर विवाह खर्च टारिन्थ्यो, आजभोलि भने स्थानीय सरकार बनेपछि नगरपालिका तथा वडा कार्यालयले केही मात्रामा भएपनि बजेट व्यवस्थापन गर्ने गरेको छ स्थानीय काशीराम बुढाले बताउनुभयो । याे वर्ष देखि स्थानीय हाम्राे सरकारले मेला व्यवस्थापन गरेकाे छ । मेलाकाे अवसर खेलकुद देखि अन्य व्यवस्थापनकाे काम याे संस्थाले गरेकाे हाे । यसअघिका वर्षहरूमा अन्य स्थानीय क्लवहरूले मेला व्यवस्थापनमा सहयाेग गर्दै आएका थिए ।
साँखमा मानव बस्ती सुरु भए देखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरू बताउँछन् । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । ‘पापिनी’ हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ ।’ यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनुपरेको छ, यो उहिलेकै चलन हो,’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भन्नुभयो ।’