लामाे समयपछि वर्षा भएपछि कृषकहरू हर्षित भएका छन् । आकाशे पानीको भरमा खेती गर्ने किसानलाई राहत पुगेको छ । यो वर्षको हिउँदको पहिलो वर्षा भएको हो । असोज देखि यता वर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका थिए ।
लामो समय पछि वर्षा हुँदा खुसी लागेको रुकुम पश्चिमको त्रिवेणी २ का भिमप्रकाश ओलीले बताउनुभयो । 'पानी नपरेको धेरै लामो समय भइसकेको थियो, बारीमा लगाएको गहुँ, जौ, मटर लगायतका हिउँदे वाली सुक्ने अवस्थामा थिए, अब पानी परेको छ केही राहत हुन्छ कि भन्ने अपेक्षा गरेको छु' ओलीले भन्नुभयो ।
आकाशे पानीको भरमा खेती गर्ने कृषकहरू हरेक वर्ष हिउँद याममा पानी नपर्दा चिन्तामा रहने गरेका छन् । अर्का किसान मुसिकोट नगरपालिका ९ का कमल खड्काले पनि धेरै समय पछि वर्षा हुँदा खुसी लागेको बताउनुभयो । 'आकाशे पानीको पर्खाइमा थियौँ, धेरै समय पछि पानी आयो अब हिउँदे बाली सप्रिने भयो, हामी खुसी छौ' खड्काले भन्नुभयो ।
रुकुम पश्चिममा केही ठाउँमा सिँचाइको सुविधा भए पनि अधिकांश भूभागमा सिँचाइको सुविधा पुग्न सकेको छैन ।अधिकांश भूभागमा किसानहरू आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता रहेको छ । रुकुम पश्चिम, पूर्व, जाजरकाेट, राेल्पा लगायत जिल्लाका उच्च भूभागमा हिमपात समेत भएकाे छ ।