रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको दशौँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । विभिन्न प्रस्तावहरू पारित गर्दै दशौँ गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभामा गाउँपालिका अन्तर्गत लेखा समिति संयोजक सुन्दर ओलीले आर्थिक वर्ष २०७९/०८० को महालेखा परीक्षणको प्रतिवेदनमा देखिएका नियमित गर्नुपर्ने बेरुजूलाई पेस गर्नुभएको थियो ।
विधायन समिति संयोजक मोतीराम पुनले नवौँ अधिवेशनदेखि हालसम्म बनेका नियमावली, कार्यविधि तथा निर्देशिकाहरू अनुमोदनका लागि पेस गर्नुभएको थियो । त्यस्तै उपाध्यक्ष एवं गाउँपालिकाको अनुगमन समितिका संयोजक राजकुमारी रेउलेले हालसम्मको अनुगमन प्रतिवेदन पेस गर्नुभयो । भने प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत गरिएका सबै प्रस्तावहरू गाउँ सभाबाट स्वीकृत भएको त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ सभाले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिसा) मा प्राप्त गरेको ८७ प्रतिशत र स्थानीय वित्तीय जोखिम मूल्याङ्कनमा प्राप्त गरेको ९०.५ प्रतिशत अङ्कलाई अनुमोदन समेत गरेको उहाँले जानकारी दिनुभयो ।
गाउँ सभाले भूकम्प प्रभावितको लागि वितरण गरेको राहत तथा अस्थायी आवासको हालसम्मको कार्य प्रगतिलाई अनुमोदन गर्दै अन्य समसामयिक प्रस्ताव उपर छलफल गरी स्वीकृत गरेको त्रिवेणी गाउँपालिकाले जनाएको छ । पालिकाले हिउँदे र बर्खे गरी वर्षमा कम्तीमा पनि दुई वटा अधिवेशन गर्नुपर्छ ।