Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट र सानीभेरीका चार सय भूकम्प पीडितलाई न्यानो कपडा प्रदान
भूकम्प प्रभावितलाई न्यानाे कपडा वितरण गरिदैँ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा राहत सामग्री वितरण गरिएको छ । काठमाडौँ वर्ल्ड स्कुलको आर्थिक सहयोग तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिमको समन्वयमा भूकम्प पीडितलाई राहत सामग्री अन्तर्गत न्यानो कपडा वितरण गरिएको हो ।

बालबालिका, गर्भवती, सुत्केरी तथा वृद्ध वृद्धालाई लक्षित गरेर आठबीसकोट नगरपालिका वडा नम्बर १३, १४ र सानीभेरी गाउँपालिका वडा नम्बर ४ मा न्यानो कपडा वितरण गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मुसिकोट शाखाका प्रमुख ब्युझना पुन देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठबीसकोट नगरपालिका वडा १४ हल्देका एक सय ४५ घरपरिवार, बाल हित आधारभूत विद्यालयमा अध्ययनरत ७५ बालबालिका र सोही वडाकै पीपलचौरका ३० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

त्यस्तै वडा नम्बर १३ का ५० घरपरिवार र सानीभेरी गाउँपालिका वडा नम्बर ४ का बलिवाङमा एक सय परिवारलाई गरेर चास सय भूकम्पपीडित परिवारलाई न्यानो कपडा, टोपी, ज्याकेट, स्विटर, जुत्ता पाइन्ट लगायतका न्यानो कपडा वितरण गरिएको प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

काठमाडौँ वर्ल्ड स्कुलका प्रतिनिधि मुकुन्द महर्जनले भूकम्प प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री अन्तर्गत न्यानो कपडा वितरण गर्नुभएको हो । काठमाडौँ वर्ल्ड स्कुलमा अध्ययनरत विद्यार्थीले सङ्कलन गरेको न्यानो कपडा प्रभावित क्षेत्रका भूकम्प पीडितलाई वितरण गरिएको महर्जनले जानकारी दिनुभयो ।

उक्त स्कुलले आठबीसकोट नगरपालिका १४ ज्यामिरकोट टाकुरामा रहेको जनविकास माविलाई अस्थायी सिकाई केन्द्र निर्माण गर्न एक लाख ६७ हजार तीन सय ५४ रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update