Kakhara सबैको खबर सम्पूर्ण खबर
शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वले भन्यो फर्जी खेलाडी नराख्नु 
फाइल फाेटाे ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनौट गर्दा नियमानुसार गर्न निर्देशन दिएको छ । अहिले पालिका स्तरीय शिल्ड सञ्चालन भइरहेको र फर्जी खेलाडी सहभागी बनाएको भन्ने गुनासो आएको भन्दै इकाईले नियम विपरीत नगर्न सबै पालिकाहरूलाई निर्देशन दिएको हो । 

‘अहिले पालिका स्तरीय शिल्ड सञ्चालन भइरहेको र निकट भविष्यमै जिल्ला स्तरीय शिल्ड सञ्चालन हुन गइरहेको अवस्थामा केही विद्यालयहरूले मापदण्ड विपरीत कागजात केरमेट गरी, सच्याई वा किर्ते गरी नक्कली खेलाडी सहभागी गराउने, नियम विपरीतका गतिविधि गर्ने जस्ता गतिविधिहरू भइरहेको गुनासो प्राप्त भएको छ, सबैले मापदण्ड अनुसार गर्नुहोला इकाईले जारी गरेको निर्देशनमा उल्लेख छ ।’

यस्ता कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने भएकोले नगर्न, नगराउन र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन समेत)को कडाइका साथ कार्यान्वयन गर्न, गराउन इकाई प्रमुख तिलक गौतमले जिल्ला स्थित सबै पालिकाहरूलाई आग्रह गर्नुभएको छ । 

रुकुम पूर्वको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २६, २७ र २८ गते भूमे गाउँपालिका ६ महतमा हुन गइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update