Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेटले जित्याे रूकुम पश्चिमकाे १४ औँ राष्ट्रपति रनिङ शिल्ड

रुकुम पश्चिमको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मुसिकोट नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाको सानीभेरी गाउँपालिकामा माघ १६ गतेबाट सुरु भएको शिल्ड आज सकिएको हो । ५४ वटा इभेन्टमा प्रतिस्पर्धा भएकामा मुसिकोटले २२ वटा स्वर्ण पदक सहित शिल्ड जितेको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले जनाएको छ । मुसिकोटले २२ गोल्डका साथमा १२ रजत र पाँच कांस्य पदक सहित कुल ३९ पदक जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

शिल्डमा चौरजहारी नगरपालिका दोस्रो भएको छ । उसले १० स्वर्णका साथ १० रजत र तीन कांस्य गरी कुल २३ पदक जितेको ढकालले जानकारी दिनुभयो । समग्रमा ३५ पदक जिते पनि स्वर्ण पदकमा चौरजहारी भन्दा पछि रहेको आठबीसकोट नगरपालिका तेस्रो बनेको छ । ढकालका अनुसार उसले आठ स्वर्ण, २० रजत र सात कांस्य पदक हात पारेको हो । सानीभेरी गाउँपालिकाले पनि आठ स्वर्ण पदक नै जिते पनि समग्रमा पदक सङ्ख्याका आधारमा आठबिसकोट भन्दा पछि रहेका कारण सानीभेरी गाउँपालिका चौथो बनेको छ ।

सानीभेरीले आठ स्वर्णसँगै ११ रजत र १० कांस्य गरी कुल २९ पदक हात पार्‍यो । बाँफिकोट गाउँपालिका पाँच स्वर्ण, एक रजत र तीन कांस्य सहित कुल नौ पदकका साथ पाँचौँ र त्रिवेणी गाउँपालिका तीन रजत र चार कांस्य सहित सात पदकका साथ छैटौँ भएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स अन्तर्गत ट्र्याक तर्फ विभिन्न दुरीको छात्र छात्रा दौड, उफ्रने र फ्याँक्ने फिल्ड तर्फ छात्र छात्रा हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो र सट फुट तथा मार्सल आर्ट तर्फ कराते, तेक्वान्दो र उसुका विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो । शिल्ड माघ १६ गते सुरु भई १८ गते सक्ने पूर्व निर्धारित कार्यक्रम भए पनि वर्षाका कारण शुक्रवारसम्म लम्बिएको खेलकुद विकास समितिले जनाएको छ ।

यो वर्ष जिल्लाका सबै स्थानीय तहले पालिका स्तरीय शिल्ड सञ्चालन गरेपछि जिल्ला स्तरीय शिल्ड आयोजना भएको हो । कम्तीमा पनि जिल्लाका आधा स्थानीय तहले शिल्ड सञ्चालन गरेमा जिल्ला स्तरीय शिल्ड सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ । समग्रमा १४ औँ जिल्ला स्तरीय शिल्ड सञ्चालन भए पनि यो सङ्घीयता पछिको तेस्रो शिल्ड हो । १५ औँ जिल्ला स्तरीय शिल्ड यस संस्करणको च्याम्पियन मुसिकोट नगरपालिकामा सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update