रुकुम पूर्वको भूमे गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर ६ मा रहेको जनजागृति माध्यमिक विद्यालय महतले जितेको छ । पालिका भित्रका ८ वटा विद्यालयलाई पछि पार्दै जनजागृति माविले शिल्ड उचालेको हो । उसले १४ स्वर्ण, आठ रजत र दुई कांस्य गरी जम्मा २४ पदक सहित शिल्ड हात पारेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कौशल कुमार तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै ६ स्वर्ण, चार रजत र ६ कांस्य गरी १६ पदक प्राप्त गरेर वडा नम्बर ४ को जनशक्ति मावि काँडा दोस्रो तथा चार स्वर्ण, ६ रजत र सात कांस्य गरी १७ पदक जितेर वडा नम्बर ३ को सहिद शुक्र मावि तेस्रो भएको छ । माघ १५ गते देखि सञ्चालन भएको शिल्डमा भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटर देखि ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्प लगायतका स्पर्धामा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
वडा नम्बर ६ स्थित महत रङ्गशालामा सञ्चालन भएको शिल्ड शुक्रवार एक कार्यक्रमका बिच समापन गरिएको हो ।