कतिपय आकस्मिक यात्रा पनि विशेष रमाइलो र यादगार बन्दो रहेछ । यस्तै भयो, १८ माघ २०८० को मुसिकोट धुरीको यात्रा । आकाशमा बादल थियो । हल्का सिमसिमे हिउँदे वर्षा । कार्यालयको कामको सिलसिलामा मुसिकोट सदरमुकामको यात्रा तय भयो । कामकै धुनमा मन कुदीरहेको थियो । काम सकेर छिट्टै फर्कनेमा मन आतुर थियो । नजिकै भइरहेको हिमपातको सूचनाले त्यसतर्फ ध्यान मोडियो । मुसिकोट नगरपालिका ८ स्थित धुरीतर्फ यात्राको योजना बन्यो ।
लामो समयदेखि वर्षा नहुँदा बालीनाली सप्रने छाँट थिएन । कृषि उत्पादन घट्ने पीर चिन्ता खट्किएको थियो । एकाएक मौसममा बदलाव आयो । आकाशबाट पानी झर्यो । घटाउँदै र हटाउँदै गएका न्यानो कपडाहरू एकाबिहानै खोजी हुन थाले । बादल लाग्दा र पानी पर्दा तिलका ठटेरा अनि च्यातिएका बाँसका डोकोहरू बालेर आगो ताप्दा साह्रै मजा लाग्थ्यो । बाल्यकालका तीनै स्मृतिहरूमा मन हराइरहेको थियो । हिउँदमा परेको पानीले सात सग्या (रातदिन गनेर रात दिन पानी पर्नु) पुर्याएर छोड्छ भन्ने बुढापाकाहरूको भनाइ स्मरण भयो । कतै सात सग्या लाग्ने त होइन ? पानी नपरेको धेरै भयो । साँच्चिकै सात सग्या लाग्छ कि क्या हो ! मनमा यस्तै कुरा जागृत थियो ।
बैठकको लागि हामी जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) पुगेका थियौँ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तज्यूले जिल्ला स्थित सुरक्षा प्रमुखहरूको टोली हिमपातका कारण अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मीको टोलीसहित गएको बताउनु भयो । केही बेर प्रतीक्षा गरेर बस्न र छिट्टै आउने भनेपछि प्रतीक्षामा थियौँ ।
मान्छेका मनहरू पनि किन हिउँ जस्तै रूप र गुणमा समान हुन नसकेका होलान् ! बाहिर सुकिलो मन भित्र किन कालो हुन्छ होला ? जस्तो आदर्श र व्यवहारको तालमेल किन मिल्दैन होला ? किन मानवता, सामाजिक सद्भाव र सहयोगको खडेरी पर्दै गएको होला ?
यो उमेरसम्म हिउँसँग नजिकबाट साक्षात्कार गर्ने अवसर मिलेको थिएन । हिउँसँग खेल्न चाहेर मात्रै सम्भव हुने कुरा होइन । समय र परिवेश मिल्नु पर्यो । छिट्टै पग्लिने हुँदा हिउँ भेट्न त्यति सहज छैन । अग्ला हिमाली क्षेत्र बाहेक अन्य ठाउँमा हिउँ भेटिँदैन । हिउँको नजिक पुग्न नसक्नेहरू केवल भिडियो, फोटो र कयौँ कोस टाढाको दुरीबाट हेरेर मात्र रमाउने हो ।
चौरजहारी नगरपालिका क्षेत्रमा खासै हिउँ पर्दैन । खागल, मालिका, जुम्लीपोखरी लगायतका अग्ला चुचुराहरूमा कुनै कुनै वर्ष आकलझुकल मात्रै हिउँ देखिन्न सकिन्छ । हिउँ परे पनि निमेषभरमै पग्लिएर जान्छ । यस क्षेत्रमा बाक्लो हिउँ देख्न र भेट्न सकिँदैन ।
पछिल्लो समयमा हिउँ खेल्न पुग्नेहरूको सङ्ख्या बढ्दै गएको छ । सडक यातायातको पहुँच विस्तार भएपछि हिउँसम्म पुग्न सहज बन्दै गएको छ । विगतमा अहिलेको जस्तो सवारी साधनहरूको पहुँच थिएन । हिउँसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो ।
बाल्यकालमा दाउरा खोज्न लेक तिर जान्थ्यौँ । आश्चार्यकोटबाट जाजरकोटको कुसेमुरे र रुकुमको सिस्ने हिमाल आँखाले जुम गरेर सकेसम्म नियाल्थ्यौँ । पहाडहरू बाक्लो हिउँले सेताम्मे देखिन्थे । आहा ! कति रमाइलो । हुन्थ्यो, छुट्टै संसारमा पुगेको अनुभूति । हिउँलाई स्पर्श गर्न ती पहाड र चुचुराहरूमा पुग्न पाए कस्तो हुन्थ्यो होला है ! मन कल्पनामा हराउँथ्यो अनि रमाउँथ्यो । तर पुग्न सम्भव थिएन । अनगन्ती कुरा मनमा खेलाउँदै दाउरा खोज्ने र साँझ घर फर्कने हाम्रो विगत हिउँदे बिदाको दिनचर्या थियो ।
बैठकसँगै कार्यालय समय सकियो । बिरलै मात्रा पर्ने हिमपातसँग प्रत्यक्ष साक्षात्कार गर्ने योजना बन्यो । सहायक प्रमुख जिल्ला अधिकार प्रवेश बडुवाल, कोष नियन्त्रक बोमलाल पराजुली, सह लेखापाल अनिल के.सी. को टोली बन्यो । शीतल माध्यमिक विद्यालय चौरजहारीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदास स्वर्णकार र प्रधानाध्यापक यदु राना पनि सहभागी हुनुभयो । अनि हामी हिमपात भइरहेको स्थान मुसिकोट ८ धुरीतर्फको यात्रा प्रस्थान गर्यौँ ।
हिउँ विनाशकारी खहरे खोला हुन्थ्यो भने त्यसको वरपर केवल दुखी आत्माहरू मात्र भेटिन्थे । सबैले धारे हात लगाउँथे होला । हामीले त हिउँसँग खुसी देख्यौँ । सद्भाव र आत्मीयता भेट्यौँ । कोमलता र हार्दिकताको गुञ्जायस पायौँ ।
पानीका फोका जस्तै गरी हिउँ खसिरहेको थियो । अब हिउँले कपडा भिज्छ कि क्या हो ! म अलमलमा परे । चिसोको डर पनि उत्तिकै थियो । भिज्ने भए हिउँ हेर्नभन्दा नआएको भए नै राम्रो हुन्थ्यो कि होला । मनमनै लाग्यो । सबै साथीहरू अगाडि बढेपछि म पनि बाध्य भए । । न त हिउँ खस्दा भिजाउँदो रहेछ न त अत्यधिक चोसो नै ।
घुम्ती काटेर अगाडि बढ्यौँ । चौरमा सेताम्मे हिउँ थियो । भुईँमा हिउँ, ढुङ्गामा हिउँ, पातमा हिउँ, रुखमा हिउँ, सडकमा हिउँ, यत्रतत्र सर्वत्र हिउँ । शरीरमा पनि लगातार हिउँ खसिरहेको थियो । तर हिउँ खस्दै गर्दा भिजाएन । बरु मनमोहक र रमणीय भयो । कोमल हिउँसँग स्पर्श गर्न थाल्यौँ । हिउँलाई सुम्सुम्यायाैं । हिउँसँगको माया र आत्मीयता प्रगाढ बन्यो । सारा दुःख पीडा र पिर मर्का र समस्याहरू भुले । केवल हिउँसँगको सामीप्ययताले एकछत्र राज गर्यो ।
बिस्तारै हिउँ परेको अवलोकन गर्नेहरूको भीड लाग्न थाल्यो । हिउँ कति सफा र निश्चल छ है ! यदि हिउँको रङ कालो भएको भए सायद हिउँसँग कोही रमाउँदैनथ्यो होला । हिउँको नजिक कोही पर्दैनथ्यो होला । हिउँ कत्ति कोमल छ ! कञ्चन र पवित्र छ । यदि हिउँ कपडामा टाँसिएर भद्दा बनाउने भए कोही पनि नजिक पर्दैनथे होला । निश्कलङक रूपमा दुनियाँलाई आकर्षण गरिरहेको छ हिउँले । न त यसले खेतीयोग्य जमिन नासेको छ । न त बन जङ्गल मारेको छ । न त बाढी जस्तै घर बास बगाएर बित्यास पारेको छ । बरु खेती बालीका लागि मलजलको काम गरेको छ । कृषकमा खुसीको बहार ल्याएको छ । जस्तो रङ त्यस्तै शील स्वभाव र गुण भेटे हिउँमा । यो शालीनता, पारदर्शी, स्पष्ट, सफा, शुद्ध र स्वच्छताको प्रतिविम्ब हो ।
मान्छेले कहिल्यै नमर्ने र नमेटिने अमर र अजर जस्तै ठान्दै गएको छ । यो मिथ्या भ्रम र झुट हो । अझ धेरै दिन टिक्नुपर्ने हिउँ छिटो विलीन भए जस्तै दया, माया र सद्भाव पनि विलीन हुँदै गएको छ । जो आवश्यक हो, त्यो क्षणिकरण हुँदै गएको छ ।
पछिल्लो समयमा मान्छे एकल काँटे बन्दै गएको छ । स्वार्थले सीमा नाघेको प्रतीत हुन थालेको छ । सामाजिक सद्भाव, सहयोग र मानवीयता कमजोर बन्दै गएको छ । फलाक्ने आदर्श र कार्यान्वयन पृथक् छ । देखाउने र चपाउने दाँत भिन्न छन् । इमानदारिता, नैतिक र प्रतिष्ठाको कडी चुडिदै गएको छ । धेरैका लागि जिन्दगी समस्या नै समस्याको रूप देखिन थालेको छ ।
मान्छेले कहिल्यै नमर्ने र नमेटिने अमर र अजर जस्तै ठान्दै गएको छ । यो मिथ्या भ्रम र झुट हो । अझ धेरै दिन टिक्नुपर्ने हिउँ छिटो विलीन भए जस्तै दया, माया र सद्भाव पनि विलीन हुँदै गएको छ । जो आवश्यक हो, त्यो क्षणिकरण हुँदै गएको छ । अप्ठ्यारोमा पर्दा देखे पनि नदेखे जस्तै हुन थालेको छ । यो बढ्दो बेथिति, भ्रष्टाचार र अनियमिततामा रमाउने मनोग्रन्थीको उपज हो । एकले अर्कालाई कसरी शासन गर्ने भन्ने होडबाजी बढ्दै गएको छ । दमन र शोषणको बन्दोबस्तमा लिप्त प्रवृत्तिले सामाजिक एकताप्रति नै वितृष्णा पैदा गरेको आभास हुन थालेको छ ।
मान्छेका मनहरू पनि किन हिउँ जस्तै रूप र गुणमा समान हुन नसकेका होलान् ! बाहिर सुकिलो मन भित्र किन कालो हुन्छ होला ? जस्तो आदर्श र व्यवहारको तालमेल किन मिल्दैन होला ? किन मानवता, सामाजिक सद्भाव र सहयोगको खडेरी पर्दै गएको होला ? यावत् प्रश्नहरूका बिच हामी हिउँबाट शिक्षा लिन सक्छौँ । हिउँसँग पारदर्शिता, कोमलता, हार्दिकता, सहयोग र सामीप्ययता छ । सेतो रङ्गमा अनुशासन छ । दाग लाग्ने भय र सतर्कता हुन्छ । त्यसै गरी मानवीय प्रवृत्तिहरू पनि सेतो हिउँ जस्तै बन्न जरुरी छ ।
अन्त्यमा, हिउँ विनाशकारी खहरे खोला हुन्थ्यो भने त्यसको वरपर केवल दुखी आत्माहरू मात्र भेटिन्थे । सबैले धारे हात लगाउँथे होला । हामीले त हिउँसँग खुसी देख्यौँ । सद्भाव र आत्मीयता भेट्यौँ । कोमलता र हार्दिकताको गुञ्जायस पायौँ । हिउँले दिएको शिक्षा ग्रहण गरौँ । रुपरङ्ग कालो / सेतो जे भए पनि मन भने सबैको सेतो हुन जरुरी छ । जब मन कालो हुन्छ तब सामाजिक सद्भाव, एकता विकास र समृद्धिको क्षयीकरण हुँदै जान्छ । सभ्य र समुन्नत समाज निर्माणका लागि बाधक होइन साधक बन्ने चेष्टा गरौँ । अनि मात्र हिउँ जस्तै मानवबिचको आकर्षण र सामीप्ययता प्रगाढ हुनेछ ।
(ढकाल चौरजहारी नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत समेत हुनुहुन्छ)