रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । जनता मावि पोखराको प्राङ्गणमा शिल्ड सुरु भएको हो । शिल्डमा पालिका भित्र का ८ वटा माध्यमिक विद्यालयको सहभागिता हरेको छ ।
२३ गते सम्म सञ्चालन हुने शिल्डमा भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरीका एक सय मिटर देखी ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड, हाई जम्प लगायतका स्पर्धामा विद्यार्थीले प्रतिस्पर्धा गर्ने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत मङ्गलसिंह बुढाले जानकारी दिनुभयो ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरल पुनको प्रमुख तथा प्रदेश सभा सदस्य दिलकुमारी पुनको विशेष आथिथ्यता रहेको थियाे । यस्तै जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिंह बुढा, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो ।
आजै गत वर्ष शिल्ड जितेको रुक्मिणी माविले गाउँपालिकालाई शिल्ड हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष रेग्मी र उपाध्यक्ष रेउलेले शिल्ड ग्रहण गर्नुभएको थियो ।