रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आज शोक बिदा दिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष अलबहादुर खत्रीको उपचारको क्रममा सोमबार निधन भएपछि आज गाउँपालिकाभरमा शोक बिदा दिइएको हो । वडाध्यक्षको निधनमा शोक व्यक्त गर्दै गाउँ कार्यपालिका कार्यालय, सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायत सबै सरकारी र सार्वजनिक संस्थामा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै वडाध्यक्ष खत्रीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट लगायतले आज गाउँपालिकाको कार्यालय सिल्लीमा वडाध्यक्ष खत्रीको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
वडाध्यक्षको निधनको शोकमा तीन दिन गाउँपालिका कार्यालय, वडा कार्यालय लगायतका सरकारी तथा सार्वजनिक संस्थामा राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । जन्डिस रोगबाट ग्रसित ४२ वर्षीय वडाध्यक्ष खत्रीको ललितपुरको मेडिसिटी अस्पतालमा सोमबार निधन भएको थियो । खत्री लामो समय देखि बिरामी हुनुहुन्थ्यो । उहाँ २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।