गत कात्तिक १७ गते राती जाजरकोट रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा तीन महिना बढी समय बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । जिल्लामा २९ हजार चार सय ६ लाभग्राही कायम भएकामा ६ हजार पाँच सय ९८ लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न सकेका छैनन् ।
लाभग्राही पहिचान भएका २९ हजार चार सय ६ मध्ये २२ हजार आठ सय आठ परिवारको अस्थायी आवास निर्माण भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार लाभग्राही कायम भएका ६ हजार पाँच सय ९८ लाभग्राहीको अस्थायी आवास निर्माण हुन बाँकी रहको छ ।
जिल्लाका ६ वटै पालिकामा चार हजार पाँच सय ७१ अस्थायी आवास निर्माणको चरणमा रहे पनि दुई हजार ७० लाभग्राहीको भने अस्थायी आवास निर्माण नै सुरु हुन सकेको छैन । लाभग्राही पहिचान भएका २९ हजार चार सय ६ मध्ये दुई हजार एक सय १३ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता समेत पाउन सकेका छैनन् ।
जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापत २५ हजार रुपैयाँका दरले स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा २९ हजार चार सय ६ लाभग्राहीको लागि रकम पठाए पनि स्थानीय तहबाट हालसम्म २७ हजार दुई सय ९३ लाभग्राहीले ६८ करोड नौ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।
लाभग्राहीको विवरण आउने क्रम जारी रहेकाले लाभग्राही अझै बढ्न सक्ने बताइएको छ । जिल्लाबाट नौ हजार सात सय ३२ लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्न २५ हजार रुपैयाँका दरले प्राप्त भएको २४ करोड ३३ लाख रुपैयाँ लाभग्राहीको खातामा पठाएको आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
अझै नगरपालिकामा ६ सय ६२ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहको उहाँले जानकारी दिनुभयो । अपुग रकम जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा माग गरी पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो ।