रुकुम पश्चिममा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका अनुसार यो वर्ष जिल्लामा १३ हजार दुई सय आठ मेट्रिक टन धान उत्पादन भएको छ । यो गत वर्षको भन्दा दुई हजार एक सय सात मेट्रिक टन बढी रहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।
गत वर्ष ११ हजार एक सय एक मेट्रिक टन धान फलेको थियो । जिल्लामा कुल तीन हजार ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केसीले बताउनुभयो । जिल्लाका सबै ६ वटै स्थानीय तहमा धान खेती हुने गरेको छ ।
धान उत्पादन बढे पनि मकै उत्पादन भने घटेको कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष २८ हजार नौ हजार ५४ मेट्रिक टन मकै उत्पादन भएको छ । यो गत वर्षको भन्दा चार हजार मेट्रिक टनले कम रहेको निमित्त प्रमुख केसीले बताउनुभयो ।
गत वर्ष जिल्लाभरमा ३२ हजार नौ सय ५४ मेट्रिक टन मकै उत्पादन भएको थियो । गत वर्षको तुलनामा मकै खेती गर्ने क्षेत्रफल बढे पनि उत्पादन भने घटेको हो । गत वर्ष आठ हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा यो वर्ष पाँच हेक्टर बढी अर्थात् आठ हजार तीन सय ५५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको निमित्त प्रमुख केसीको भनाई छ ।
गत भदौ महिनामा हावाहुरी सहितको वर्षाले व्यापक क्षति गर्दा मकै उत्पादनमा गिरावट आएको उहाँले बताउनुभयो ।
जिल्ला ‘खाद्य असुरक्षित’
यसैबिच जिल्ला यो वर्ष खाद्यान्न असुरक्षित जिल्लाका रूपमा रहेको छ । भदौको हावाहुरीले मकैमा क्षति गरेको र गत कार्तिक १७ गतेको भूकम्पले भण्डारण गरेर राखिएको मकै, धान लगायतको खाद्यान्नमा क्षति गरेपछि जिल्लामा यो वर्ष खाद्यान्न अभाव हुने देखिएको केसीले बताउनुभयो ।
यसअघि जिल्लालाई पुगेर दुई हजार पाँच सय मेट्रिक टन खाद्यान्न बचत हुने गरेको भए पनि यो वर्ष भने करिब १३ सय मेट्रिक टन खाद्यान्न अपुग हुने देखिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले जानकारी गराउनुभयो ।