रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर ३ मा रहेको जनता मावि पोखराले जितेको छ । पालिका भित्रका ९ वटा विद्यालयलाई पछि पार्दै जनता माविले शिल्ड उचालेको हो । उसले १४ स्वर्ण, आठ रजत तीन ३ कांस्य गरी जम्मा २५ पदक सहित शिल्ड हात पारेको हो ।
त्यस्तै नाै स्वर्ण, १० रजत र पाँच कांस्य गरी २४ पदक प्राप्त गरेर वडा नम्बर ५ को रुक्मिणी मावि दोस्रो तथा दुई स्वर्ण, सात रजत र ६ कांस्य गरी १५ पदक जितेर वडा नम्बर ६ मा रहेको त्रिभुवन मावि तेस्रो भएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मङ्गलसिंह बुढाले जानकारी दिनुभयो ।
माघ २१ गते देखी जनता मावि पोखराको खेल मैदानमा सञ्चालन भएको शिल्डमा भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटर देखि तीन हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्प लगायतका स्पर्धामा छात्र, छात्राले प्रतिस्पर्धा गरेका थिए । शिल्ड बुधबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।