तिम्रो स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकार हनन गर्दै
तिमीलाई तिमीबाटै अलग बनाई मेरो मनको कुनामा नजरबन्द गरेँ
लगाइदेऊ अभियोग तिम्रो मनको अदालतमा मलाई
जारी गरिदेऊ पक्राउ पुर्जी थुनिदेऊ तिम्रो मनको थुनामा मलाई ।
यदि म कतै फरार भएँ भने मलाई कतै नजानु खोज्नलाई
खोज्नु तिम्रो मनमा सुरक्षित हुनेछु तिम्रै मनमा लुकेर बस्नलाई
तयार छु आत्मसमर्पण गर्न तिम्रो अघि पक्राउ गर्नु मलाई
बन्दी बनाई थुनिदिनु तिम्रो मनको थुनामा मलाई ।
प्रमाण जुटाई दोषी ठहर गरी मुद्दा चलाई दिनु मलाई
तिम्रो अदालतको न्यायाधीश तिम्रो मनले सोधेपछि
भन्ने छु म पनि स्वीकार छ अभियोग लगाइएको मलाई
श्रीमान् सुनाइदिनु आजीवन कारावासको सजाय मलाई ।
तर मलाई लगिने त्यो कारावास तिम्रो मुटु नै हुनुपर्छ
मलाई हतकडी लगाई कारावास लग्ने प्रहरी तिमी नै हुनुपर्छ
थुनेर मलाई कारावासमा सेवा दिने तिमी नै हुनुपर्छ
रिहाइ नहुने गरी त्यही कारावासमा बस्ने व्यवस्था तिमीले नै गर्नुपर्छ ।