Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक नमिच्न चौरजहारी नगरपालिकाको आग्रह, सडक मिचेर अस्थायी आवास बनाए दोस्रो किस्ता नदिइने

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सडक क्षेत्र मिचेर संरचना निर्माण नगर्न नगरवासीलाई आग्रह गरेको छ । नगर भित्रका सडकहरूको वर्गीकरण गर्दै नगरपालिकाले तोकेको मापदण्ड विपरीत संरचना निर्माण नगर्न आग्रह गरेको हो । नगर कार्यपालिकाको असोज ३० गतेको बैठकले नगरभित्रका सडक खण्डहरूको मापदण्ड निर्धारण गरेको थियो । 

सोही मापदण्ड अनुसार सडक खण्डलाई ५ भागमा वर्गीकरण गरेर नगरवासीलाई सडक मिचेर संरचना निर्माण नगर्न सूचना मार्फत जानकारी गराइएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नगर भित्रका १४ वटै वडाका सडक क्षेत्रको वर्गीकरण गरिएको छ । 

क वर्गको सडक क्षेत्रमा ५० मिटर, ख वर्गको सडक क्षेत्रमा २२, ग वर्गको सडक क्षेत्रमा १४, घ  वर्गको सडक क्षेत्रमा १० र ङ  वर्गको सडक क्षेत्रमा ८ मिटर चौडाइमा संरचना निर्माण नगर्न भनिएको छ । वर्गीकरण गरेका विभिन्न ९३ वटा सडक खण्डको क्षेत्र मिचेर संरचना निर्माण नगर्न भनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम चौरजहारी नगरपालिकाले तोकेको मापदण्ड उलङ्घन गरी कतिपयले स्थायी वा अस्थायी आवास निर्माण गर्न थालेकोमा ध्यानाकर्षण भएको र मापदण्ड कार्यान्वयन गर्न सचेत गराएको हो । 

साथै भूकम्प प्रभावित परिवारहरूले सडक क्षेत्र मिचेर अस्थायी आवास निर्माण गरेको पाइएमा दोस्रो किस्ता बापतको अनुदान रकम समेत रोक्का हुने नगरपालिकाले चेतावनी दिएको छ । सडक खण्ड वर्गीकरण मापदण्ड वितरित संरचना निर्माण गरेमा उक्त संरचना हटाउन नगर प्रहरी, नेपाल प्रहरी समेत परिचालन गर्ने नगरपालिकाको चेतावनी छ । साथै उक्त संरचनाहरू हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update