रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले २ वर्षदेखि निष्क्रिय रहेका सहकारीलाई खारेज गर्ने तयारी थालेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनभित्र सहकारीले दाबी विरोध पेस नगरे २० वटा सहकारी खारेज गर्ने जनाएको हो । नगरपालिकामा साबिक डिभिजन सहकारीमा दर्ता भई हस्तान्तरण भएका र नगरपालिकामा दर्ता भएका २० वटा सहकारीलाई खारेजी नगर्नु पर्ने जवाफको लागि १५ दिनको समय तोकिएको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहकारी सञ्चालकलाई दुई वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय सहकारी संस्था खारेजी किन नगर्ने ? खारेज नगर्ने उचित कारण सहित १५ दिन भित्र दाबी पेस गर्न भनिएको छ । डिभिजन सहकारीबाट २०७४ सालमा नगरपालिकामा हस्तान्तरण भएपछि कुनै प्रगति पेस नगरेको, पटक पटक विवरण माग गर्दा विवरण उपलब्ध नगराएकाले २० वटा सहकारीको नाम सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।
जसअनुसार १३ वटा श्रमिक सहकारी, तीन वटा उपभोक्ता सहकारी, तीन वटा कृषि सहकारी र एउटा दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् । १५ दिन भित्र दाबी पेस नगरेमा सहकारी खारेज गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले निकालेको सूचनामा उल्लेख गरिएको छ। सहकारी संस्थाले नियमित साधारण सभा सम्पन्न गरी मासिक तथा वार्षिक प्रगति पेस गर्नु पर्ने नियम भए पनि उक्त सहकारी संस्थाहरू दुई वर्षदेखि कुनै पनि गतिविधि नगरी निष्क्रिय रहेका छन् ।