Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगरपालिकाले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय लगायत सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरूमा ‘जनयुद्ध दिवस’का अवसरमा सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

नेपालको संविधान २०७२ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारको रूपमा रहेको ‘सशस्त्र जनयुद्ध’ थालनी भएको दिन २०५२ फागुन १ गतेको सम्झनामा यस वर्षको फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आज बसेको नगरपालिकाको ९२ औँ नगर कार्यपालिकाको बैठकले गरेको निर्णय बमोजिम ‘जनयुद्ध दिवस’का दिन अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । हरेक वर्षको फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का अवसरमा मनाउने र दिवसका दिन सार्वजनिक बिदाको घोषणा गरेको थियो । तर उक्त निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

नेकपा माओवादी केन्द्र विजयी भएका स्थानीय तहहरूले भने दिवसका अवसरमा बिदा दिँदै आएका छन् भने यो वर्ष पनि बिदाको घोषणा गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update