जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा शैलेशकुमार शर्मा मनोनित हुनु भएको छ । कर्णाली प्रदेश सरकारको चैत २९ गतेको मन्त्री परिषद्को बैठकले शर्मालाई अध्यक्षमा मनोनित गरेको हो । शर्मा संघीयता कार्यान्वयनमा जानु अघिको जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष हुनुभएको थियो ।
समितिको सदस्यमा आठबीसकोट नगरपालिका ३, का सन्देश विक, मुसीकोट नगरपालिका ११, कि धनमाया बोहरा र सानीभेरी गाउँपालिका ३, का गोविन्द ओली मनोनित भएका छन् । कार्यालय सचिवमा लिलाप्रसाद ढकाललाई नियुक्ति दिइएको छ । अध्यक्ष शर्माले वैशाख २ गते सपथ ग्रहण गरिसक्नुभएको छ भने अन्य सदस्यलाई अध्यक्ष शर्माले नै सपथ ग्रहण गराउनुहुने छ ।
खेलकुद समितिको कार्यालय स्थापना तथा राष्ट्रपति रनिङ शिल्ड सञ्चालन पहिलो काम भएको अध्यक्ष शर्माले बताउनुभयो । संघको कार्यालय तथा कर्मचारीको समायोजन नभए सम्म प्रदेश मातहत समितिको छुट्टै कार्यालय सञ्चालन हुने अध्यक्ष शर्माले बताउनुभयो । जिल्ला पहिलो पल्ट सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड यही समितिले सञ्चालन गर्ने र केही दिनमा यसको मिति तय गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।