Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारमा रहेको प्रभु बैङ्कका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह बेपत्ता भएका छन् । विगत ६ दिन देखि शाह बेपत्ता भएपछि कयौँ बचतकर्ताहरू चिन्तामा परेका छन् । आफूहरूको रकम हिनामिना गरेर शाह बेपत्ता भएको आशङ्कामा बचतकर्ताहरू चिन्तामा परेका हुन् । शाह पैसा लिएर भागेको भन्दै बचतकर्ताहरूमा खैलाबैला मच्चिएको छ । एक बचतकर्ताले आफ्नो खातामा रहेको १० लाख रुपैयाँ अर्कैको खातामा ट्रान्सफर गरिएको दाबी गरेका छन् । बैङ्कमा गएर बुझ्दा आफ्नो खातामा रहेको पैसा अन्यत्रै पठाएको पाइएको दाबी उनको छ ।   

शङ्कास्पद देखिएपछि आन्तरिक अनुसन्धान थालिएको छ । जसका लागि बैङ्कको कर्णाली प्रदेशबाट दुई जनाको टोली आएको शाखा प्रमुख डम्बर गौतमले जानकारी दिनुभयो । ‘हाम्रो शाखामा अप्रेसन इन्चार्जको रूपमा कार्यरत शाह ६ दिन देखि बेपत्ता हुनुहुन्छ, म बिदामा रहेका कारण बैङ्कको सबै जिम्मेवारी उहाँलाई थियो, बेपत्ता भएपछि हामीले आन्तरिक अनुसन्धान सुरु गरेका छौँ, उहाँले भन्नुभयो–केही गडबडी छ कि छैन भन्ने अनुसन्धान सकिएपछि मात्र थाहा होला ।’

अनुसन्धानका लागि केन्द्रको टोली समेत आउन लागेको जानकारी उहाँले गराउनुभयो । शाहले १२ दिनको बिदा मागेको तर आफू बिदामा रहेका कारण अहिले बिदा मिल्दैन भनेको तर पायल्सको अप्रेसन छ एक दिनका लागि भए पनि बिदा दिनुपर्‍यो, नेपालगन्ज जानु छ भनेर शाह सम्पर्क विहीन भएको प्रमुख गौतमले बताउनुभयो । 

बचत कर्ताको खाताबाट पैसा निकालेको भन्ने हल्ला मात्र रहेको र यसमा सत्यता नरहेको उहाँले दाबी गर्नुभयो । ‘कुनै पनि बचत कर्ताको खाताबाट पैसा निकालेको भन्ने देखिएको छैन, यसमा सत्यता छैन, तर हामी अनुसन्धानमै छौँ,’ उहाँले भन्नुभयो । 

व्यक्तिगत कारोबारको आशङ्का गरिएको उहाँले बताउनुभयो । व्यक्तिगत रूपमा केही व्यक्तिहरूले शाहलाई ऋण दिएको हुनसक्ने र एकाएक बेपत्ता भएको थाहा पाएपछि आत्तिएको हुनसक्ने शाखा प्रमुख गौतमको भनाई छ । पर्ससम्ममा अनुसन्धान सकिने र त्यसपछि यसबारेमा के भएको हो भनेर थाहा हुने उहाँले बताउनुभयो ।  

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update