Kakhara सबैको खबर सम्पूर्ण खबर
वेद र वेदाङ्ग

वेदहरू प्राचीन जम्बु द्वीप अर्थात् वर्तमान दक्षिण एसिया क्षेत्रमा सृजित ज्ञान भण्डार एवं मानव ज्ञानको प्राचीनतम श्रोत ग्रन्थहरूको एक ठुलो समूह हो । वैदिक संस्कृतमा रचित, ग्रन्थहरू संस्कृत साहित्यको सबैभन्दा पुरानो तह र हिन्दु धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ हो । वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिनु हो ।

वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्ताबेज हो । वेदका २८ हजार पाण्डुलिपिहरू भारतको पुणे स्थित भण्डार कर ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । ती मध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्त्वपूर्ण छन् जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ. पू. १८०० देखि इ.पू १५०० बिचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ । महत्त्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् । वेदलाई श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेको छ । श्रु अर्थात् सुन्नु । ऋग–स्थिति, यजु–रूपान्तरण, साम–गतिशील र अथर्व–जड । ऋक् भनेको धर्म, यजु: भनेको मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, काम शास्त्र र मोक्ष शास्त्रको रचना भएको हो ।

१) ऋग्वेद: यसमा होतृवर्गको लागि उपयोगी मन्त्रहरूको सङ्कलन छ । यसमा ‘ऋक्’ संज्ञक (पद्यबद्ध) मन्त्रहरूको अधिकताको कारण यसको नाम ऋग्वेद भयो । ऋक् अर्थात् स्थिति र ज्ञान । यसमा १० मण्डल र १०२८ ऋचाहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन पाइन्छ । यसमा ५ शाखाहरू छन् – शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन हुन।यसमा होतृवर्गको उपयोगी गद्यात्मक  स्वरूपको पनि केही मन्त्र छन् ।यसमा देवताहरूको आह्वान गर्ने मन्त्रहरू छन् । यही सर्वप्रथम वेद हो, यो वेद मुख्यतः ऋषि मुनिहरूको लागि हुन्छ ।

(२) यजुर्वेद: यसमा यज्ञानुष्ठान सम्बन्धी अध्वर्युवर्गको उपयोगी मन्त्रहरूको सङ्कलन छ । यसमा ‘गद्यात्मक’ मन्त्रको अधिकताको कारण यसको नाम ‘यजुर्वेद’ छ । यजुर्वेदको अर्थ: यत् + जु = यजु । यत् को अर्थ हो गतिशील तथा जु को अर्थ हो आकाश । यसको अलावा कर्म। श्रेष्ठतम कर्मको प्रेरणा । यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन् । यस वेदमा धेरैजसो यज्ञका मन्त्रहरू छन् । यज्ञको अलावा तत्वज्ञानको वर्णन छ । यसमा केही पद्यबद्ध, मन्त्र पनि छन्, जुन अध्वर्युवर्गको उपयोगी छन् । यजुर्वेदको दुई विभाग छन्, (क) शुक्ल यजुर्वेद र (ख) कृष्ण यजुर्वेद ।यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य मन्त्रहरू छन् । यो वेद मुख्यतः क्षेत्रीयहरूको लागि हुन्छ । कर्मकाण्डको लागि उपयुक्त मानिन्छ ।

(३) सामवेद: साम अर्थात् रूपान्तरण र सङ्गीत । सौम्यता र उपासना । यसमा १८७५ (१८२४) मन्त्रहरू छन् । यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन् । यस संहिताका सबै मन्त्र सङ्गीतमय छन्, गेय छन् । यसमा मुख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलाई समावेश गरिएको छ ।यसमा गायन पद्धतिको निश्चित मन्त्र भएको कारण यसको नाम सामवेद हो ।यसमा यज्ञमा गाउनको लागि सङ्गीतमय मन्त्रहरू छन् । यो वेद मुख्यतः गन्धर्वहरूको लागि हुन्छ । यसमा मुख्यतया सङ्गीतमय भाव झल्कन्छ।

(४) अथर्ववेद: थर्व को अर्थ हो कम्पन र अथर्व को अर्थ अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर मोक्ष धारण गर्दछ भन्ने अथर्ववेदको मुख्य अभिप्राय रहेको पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याको पनि वर्णन पाइन्छ । उपरोक्त सबैमा परमात्मा, प्रकृति र आत्माको विशद वर्णन र स्तुति गान गरिएको छ । यसबाहेक वेदहरूमा आफ्नो समयका महापुरुषहरूको महिमा, गुणगान एवं उक्त समयको सामाजिक,राजनीतिक तथा भौगोलिक अवस्थाको वर्णन पनि पाइन्छ । यसमा यज्ञानुष्ठानको ब्रह्म वर्गको उपयोगी मन्त्रहरूको सङ्कलन छ । यसमा जादु, चमत्कार, आरोग्य, यज्ञको लागि मन्त्रहरू छन् । यो वेद मुख्यतः व्यापारीहरूको लागि हुन्छ । अर्थात् यसलाई अर्थशास्त्र पनि कहिएको छ ।

चार उपवेद यस प्रकार छन्ः

धनुर्वेद
यसलाई यजुर्वेदको उपशाखा मानिएको छ। धनुर्वेद पनि विश्वामित्रले रचना गरेको धनुर्वेद (दीक्षा पाद, सङ्ग्रह पाद, सिद्ध पाद र प्रयोग पाद), शिवजीले रचना गरेको धनुर्वेद (६००००श्लोक), द्रोणाचार्यले रचना गरेको धनुर्वेद (धनुष प्रदीप ७०० श्लोक), परशुरामले रचना गरेको धनुक्ष् (चन्दरोदयधनुष ६०००० श्लोक) मुख्य छन् । यसमा विभिन्न प्रकारका धनुष र बाण बनाउने र त्यसको प्रयोगका बारेमा विस्तृत चर्चा गरिएको छ ।

गान्धर्व वेद
यो सामवेदको उपवेद हो।सामवेद सङ्गीत वेद हो।सामवेदको वाष्णेर्य शाखाको उपवेद गान्धर्व वेद हो । यसमा चौध काण्ड रहेका छन् ।यसलाई सङ्गीत रत्नाकर उपवेद पनि भनिन्छ। यसका चार आचार्य प्रसिद्ध रहेका छन्– सोमेश्वर, भरत, हनुमत र मल्लीनाथ ।

आयुर्वेद
यो ऋग्वेदको उपवेद हो। यसमा ब्रह्माजीले रचना गरेका एक लाख श्लोक रहेका छन् ।यसलाई प्रजापतिले ग्रहण गरी अश्विनीकुमारलाई दिए । अश्विनीकुमारले इन्द्रलाई र इन्द्रले धन्वन्तरिलाई हस्तान्तरण गरे।

अर्थ वेद
यो अथर्व वेदको उपवेद हो । यसमा अर्थोप वेद, अर्थ वेद, अर्ध चन्द्रोदय, सम्पत्ति शास्त्र आदि ठुला ग्रन्थ र नीति प्रभा र काश्यपे दुई सानाग्रन्थहरु पनि रहेका छन् ।

चार वेदबाहेक वेदका छ वटा अङ्ग रहेका छन्–
छन्द: पादौ तु वेदस्य हस्तौ कल्पोऽथ पठ्यतेज्योतिषामयनं चक्षुर्निरुक्तं श्रोत्रमुच्यते ।ज्योतिषामयनं चक्षुर्निरुक्तं श्रोत्रमुच्यते।शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम्तस्मात्सांगमधीत्यैव ब्रह्मलोके महीयते ।। तस्मात्सांगमधीत्यैव ब्रह्मलोके महीयते ।।

यिनीहरूलाई शरीरका छ अङ्ग क्रमशः आँखा, कान, नाक, मुख, हात, खुट्टा सरह मानिन्छ ।

शिक्षा–यसमा  पढाउने विधिको व्याख्या गरिएको छ । जहाँ स्वर र अक्षर आदिको उच्चारणको शिक्षा दिइन्छ, त्यसलाई शिक्षा भनिन्छ।  यसको मुख्य उद्देश्य   कुनै अवरोध बिना शुद्ध रूपमा उच्चारण गर्नु हो ।  शिक्षाको उत्पत्ति र विकास वैदिक मन्त्रहरूको शुद्ध हहध उच्चारण र तिनको संरक्षणका लागि भएको हो ।

कल्प– कुन काममा वेदको कुन मन्त्रको प्रयोग गर्ने भन्ने उल्लेख गरिएको छ ।  यसका तीन शाखाहरू छन्ः श्रौत सूत्र, गृह्य सूत्र र धर्म सूत्र । कल्प वेदमा वर्णित कर्महरूको स्पष्ट विचार प्रस्तुत गर्ने शास्त्र हो । यसमा यज्ञसम्बन्धी नियमहरू दिइएको छ ।

व्याकरण–जुनसुकै व्याकरणले पनि भाषालाई शुद्ध पार्ने हुनाले व्याकरणलाई भाषाको मेरुदण्डको रूपमा लिने गरिन्छ। यसमा जुनसुकै भाषाको ह्रस्व  दीर्घ भाषामा भएका गति यति छन्द लय मात्रा सन्धि जस्ता कुराहरूको वर्णन गरिएको हुन्छ। व्याकरण एउटा भाषाको विज्ञान हो। व्याकरणलाई वेदको मुख पनि भनिन्छ ।

निरुक्त–वेदमा प्रयोग भएका शब्दहरूको अर्थ निरुक्तमा– अवश्य उल्लेख गरिएको छ। यसलाई वेद पुरुषको कान भनिन्छ।  जे पनि निरपेक्ष रूपमा भनिन्छ, त्यो नै निरुक्त हो।  यसलाई वेदको आत्मा पनि भनिन्छ।

ज्योतिष– खगोलीय पिण्डहरूलाई आधार मानेर गणना गरी गणितीय माध्यमद्वारा कुनै पनि मानिसहरूको या ग्रह ताराहरूको अध्ययन गरिने शास्त्र ज्योतिष शास्त्र हो। यसलाई वेदको आँखा भनेर पनि चिनिन्छ ।, 

छन्द– कवितामा सामान्यतः लयको वर्णन गर्न ‘छन्द’ शब्दको प्रयोग गरिएको छ।  लघु र ठुला ध्वनि, लघु–गुरु मातृहरूको अनुक्रममा, मात्रालाई सङ्केत गर्दछ र जब तिनीहरूले काव्य रचनामा एक व्यवस्थासँग सामञ्जस्य प्राप्त गर्दछ, तब यसलाई शास्त्रीय नाम दिइन्छ र लघु–गुरु मात्रहरू अनुसार अक्षरहरूको यो व्यवस्था गरिन्छ । 

वैदिक कालमा अध्यापनलाई पवित्र कर्तव्य मानिन्थ्यो र आधुनिक कालको तुलनामा वैदिक शिक्षक कति जिम्मेवार थिए भन्ने कुरा यसले विश्वलाई देखाउँछ । वेदलाई संसारको सबैभन्दा पुरानो साहित्यको रूपमा मानिन्छ र प्राचीन नेपाल र भारतमा  जीवनको दर्शनको स्रोत हो र यसको अध्ययनले हामीलाई जीवन दर्शन सहज मार्गतिर लिने गर्दछ आजको युगमा मानिस हरू वैदिक सनातन पद्धतिलाई पौराणिक कुरा भने पनि वेदका धेरै कुराहरू विज्ञानमा आधारित रहेका छन् त्यसैले विज्ञ अथवा वेद बाटै आएको शब्दलाई विज्ञान मानिएको छ । वर्तमान अवस्थामा नेपालमा शैक्षिक प्रणालीमा वेद को अध्ययन गर्न जरुरी देखिन्छ र नेपालको शिक्षा प्रणाली बदल्न जरुरी छ। वैदिक अध्ययनले मानिसलाई शान्त बनाउँदछ । यसमा विभिन्न प्रकारका नैतिक शिक्षा देखि लिएर जीवनयापनका हरेक कुरा बताइएको छ जुन हाम्रो स्वास्थ्य क्षेत्रमा पार्ने नकारात्मक ऊर्जा हरू र यसको उपचारको लागि ज्योतिष तथा आयुर्वेदिक उपचार प्रणालीलाई आकलन गरी अहिले भइरहेको रासायनिक पदार्थ प्रतिस्थापन गर्न सकिने थियो ।
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update