Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम 
तालिमकाे सहजिकरण गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि  क्षमता विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा तालिम आयोजना गरिएको हो । नगरपालिका हलमा भएको तालिममा जनप्रतिनिधि र कर्मचारी गरी ४५ जनाको सहभागिता रहेको थियो ।

 तालिममा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र विषयगत समितिको भूमिकाको विषयमा प्रशिक्षण गरिएको छ । त्यसै गरी स्थानीय तहको काम, कर्तव्य र अधिकार, उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन सबल पक्ष र सुधार गर्नुपर्ने पनि तालिमको विषयवस्तु रहेको थियो। बैठक सञ्चालन, बैठक सञ्चालनमा ध्यान दिनुपर्ने कुरा तथा निर्णयको मस्यौदा लेखन र प्रभावकारी रूपमा योजना अनुगमन,  स्थानीय तहको राजश्वको क्षेत्राधिकार र सुधार गर्नुपर्ने पक्षका विषयमा  प्रशिक्षण गरिएको छ । 

शुक्रवार तालिमको उद्घाटन नगर प्रमुख पुष्प वादीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख पुष्प वादीले मानव संसाधन विकासमा तालिमले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता विकासले मात्र प्रभावकारी नीति तर्जुमा र सफल कार्यान्वयन हुने उहाँको भनाइ छ । त्यसै गरी नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा, बि.एम.ले तालिम प्राप्त गर्नु जति महत्त्वपूर्ण त्यसको उपलब्धि कार्यान्वयनबाट मात्र प्राप्त हुने बताउनु भयो ।

तालिमको सहजीकरण कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान शाखा अधिकृत रामबहादुर सारू, क्षमता विकास विज्ञ गणेश उपाध्याय र चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले गर्नुभएको थियो । 

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update