अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित कर्णाली प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा रुकुम पश्चिमकी अन्जु खड्का प्रथम हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को यमुना नन्द नमुना माविमा कक्षा ९ मा अध्ययनरत मुसिकोट ६ पोखराकी खड्का प्रथम हुनुभएको हो ।
स्थापना दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । जसमा कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशको रुकुम पूर्वका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेकामा अन्जु प्रथम भएको विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई आज पुरस्कार वितरण गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्थापना दिवस विशेष समारोह मार्फत पुरस्कार प्रदान गर्नुभएको थियो । अख्तियारको स्थापना दिवसको अवसरमा गत वर्ष आयोजित निबन्ध प्रतियोगितामा पनि यमुना नन्द नमुना माविकै अञ्जना खत्री प्रथम हुनुभएको थियो ।