रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि ‘जनयुद्ध’ दिवसको बिदा दिएको छ । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ सुरुवात गरेको स्मरणमा हरेक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउने गरिएको छ । सोही अवसरमा गाउँपालिकाले यस वर्षको फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको छ ।
आज एक सूचना जारी गर्दै गाउँपालिकाले फागुन १ गते गाउँपालिकामा सार्वजनिक बिदा दिइएको बारेमा जानकारी गराएको हो । गाउँ कार्यपालिकाको शनिवार बसेको बैठकको निर्णय अनुसार फागुन १ गते मङ्गलवार गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय, विद्यालय र सङ्घ संस्थाहरूमा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रले जितेका स्थानीय तहहरूले ‘जनयुद्ध’ दिवसको अवसरमा बिदा घोषणा गरिरहेका छन् । अघिल्ला वर्षहरूमा पनि दिवसको अवसरमा बिदा दिने गरिएको थियो । सङ्घीय सरकारले समेत फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा बनाउने र उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेकामा सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको थियो ।