नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले प्रभु बैङ्क आठबिसकोटमा भएको करोडौँको अपचलनको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी अपिल सी ले आज आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र बचतकर्ताको रकम तुरुन्त फिर्ता गर्न माग गर्नुभएको छ ।
बैङ्कका अप्रेसन इन्चार्ज नीराजन शाह बचतकर्ताको करोडौँ रुपैयाँ लिएर भागेको घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । आम जनताले विश्वास गरेर जम्मा गरेको रकम बैङ्कका आधिकारिक व्यक्तिबाट नै चोरी हुनु अत्यन्तै निन्दनीय र विश्वसनीयताप्रतिको ठुलो घात भएको नेकपाले उल्लेख गरेको छ ।
साथै यो घटनाको ढाकछोप गर्न खोजिए चुप लागेर नबस्ने पार्टीले चेतावनी दिएको छ । यदि यो घटनालाई ढाकछोप र बचाउ गर्न खोजेमा हाम्रो पार्टी थप सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिन्छ, विज्ञप्तिमा भनिएको छ । त्यस्तै नेकपाले सम्पूर्ण पीडित र आम जनसमुदायलाई न्यायपूर्ण आन्दोलनमा सरिक हुन पनि विज्ञप्ति मार्फत अपिल गरेको छ ।