Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा 
सानीभेरी गाउँपालिकाकाे निर्माणाधिन भवन ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत वर्षको भदौ २३ गते देखि निर्माण सुरु भएको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रशासकीय भवन निर्माणको काम करिब करिब सकिएको र अव झ्याल ढोका जडान, प्लास्टर र रङ रोगनको काम बाँकी रहको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । 

उहाँका अनुसार असार मसान्तसम्म निर्माण सम्पन्न गरी आउँदो आर्थिक वर्षको साउन देखि नयाँ भवनबाट कामकाज सुरु गर्ने योजना गाउँपालिकाको रहेको छ । गाउँपालिकाको भवन वडा नम्बर ९ को सिम्लीमा निर्माण भइरहेको छ । प्रशासकीय भवन निर्माणको लागि नाै करोड ५७ लाख रुपैयाँमा असार मसान्तसम्म निर्माण सक्नेसरि आशिष् रेडिक्रेट जेभीले भवन निर्माणको जिम्मा लिएको छ । जसअनुसार पाँच करोड १४ लाख २० हजार रकम सङ्घीय सशर्त अनुदान अन्तर्गतकाे बजेट हो । भने ४ करोड ४२ लाख ८० हजार रकम गाउँपालिकाले आफै बेहोरेको छ । 

प्रशासकीय भवन ४ तलाको छ । जसमा ३३ कोठा, शौचालय र एउटा सभा हल रहेकाे प्रवक्ता घर्तीले जानकारी दिनुभयो । अहिले गाउँपालिकाले निर्माणाधीन प्रशासकीय भवन नजिकै रहको आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । उक्त भवन सानो हुँदा केही समस्या भए पनि अव नयाँ प्रशासकीय भवन बनेपछि भने सहज हुने गाउँपालिकाले जनाएको छ । मुसिकोट चौरजहारी र आठबीसकोट नगरपालिका तथा बाँफिकोट गाउँपालिकामा आफ्नै पक्की प्रशासकीय भवन छन् । भने त्रिवेणी गाउँपालिकामा पक्की प्रशासकीय भवन निर्माणको काम जारी छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update