Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका पाँच स्थानीय तहले ‘जनयुद्ध’ दिवसमा दिए सार्वजनिक बिदा

‘जनयुद्ध’ दिवसको अवसरमा रुकुम पश्चिमका पाँच स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् । सबैभन्दा पहिले आठबीसकोट नगरपालिकाले शुक्रवार नै नगर क्षेत्रभित्र पर्ने सरकारी कार्यालय, विद्यालय तथा सङ्घसंस्थालाई एक दिन ‘जनयुद्ध’ दिवसको अवसरमा बिदा दिने निर्णय गरेको थियो । त्यस्तै बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकाले पनि ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेका छन् । 

सानीभेरी गाउँपालिकाले पनि ‘जनयुद्ध’ दिवसको अवसरमा फागुन एक गते बिदा दिने निर्णय आज गरेको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । ‘जनयुद्ध’ दिवसकै अवसरमा फागुन १ गते गाउँपालिकाले गुरिल्ला म्याराथन समेत आयोजना गरेको छ । त्रिवेणी गाउँपालिकामा पनि ‘जनयुद्ध’ दिवसको अवसरमा बिदा दिने निर्णय भएको र आधिकारिक रूपमा सूचना भोली प्रकाशन हुने गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका भने ‘जनयुद्ध’ दिवसको अवसरमा बिदा दिने वा नदिने अन्योलमा परेको छ । हालसम्म बिदा बारे नगरपालिकाले कुनै निर्णय गरेको छैन । आज बसेको नगर कार्यपालिकाको बैठकमा यसबारेमा कुरा उठेको र प्रस्ताव आएमा बिदा दिने वा नदिने निर्णय भोली मात्र हुने मुसिकोट नगर प्रवक्ता समिरजङ मल्लले बताउनुभयो ।

गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ४ स्थानीय नेकपा (माओवादी केन्द्र) ले जितको थियो । भने मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको प्रमुख तथा अध्यक्ष नेपाली काँग्रेसले जितेको थियो । सङ्घीय सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउने र उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेकामा सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update