नेपाल प्रेस युनियन र नेपाल निजामती कर्मचारी युनियनको संयुक्त आयोजनामा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई बधाई ज्ञापन तथा सम्मान गरिएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई बधाई ज्ञापन तथा सम्मान गरिएको हो ।
बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य रोकायले पत्रकार तथा निजामती कर्मचारीको हक हितमा नीति नियम निर्माणका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको थियो । संविधानको रक्षा गर्दै रुकुमको समृद्धि र विकासको लागि अगाडि बढ्ने उहाँले बताउनुभयो । ‘अहिले चारै तिरबाट संविधानमा प्रहार भइरहेको छ, यसको रक्षाको लागि म सधैँ लागि रहने छु, राष्ट्रिय सभा सदस्य रोकायले भन्नभयो ।
राष्ट्रिय सभाको सदस्य बन्दै गर्दा रुकुमेली जनताहरूले ठुलो आशा अपेक्षा गरेको उल्लेख गर्दै सोही अनुसार आफू अगाडी बढ्ने उहाँको भनाई थियो । जनताले आफूमाथि गरेको विश्वास टुट्न नदिने समेत उहाँले बताउनुभयो । प्रेस युनियनका अध्यक्ष सुमित्रा केसी र निजामती कर्मचारी युनियनका अध्यक्ष देवबहादुर ओलीको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रोकायको प्रमुख आतिथ्यता रहको थियो ।
त्यस्तै नेपाली काँग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्री, सचिव परमेश्वर भण्डारी, सह सचिव यज्ञबहादुर विष्ट, वडा नम्बर १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, २ का वडाध्यक्ष दिनेश खड्का, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य गोपाल शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रवीर ददेल लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियनका जिल्ला सचिव करण विकले गर्नु भएको थियो ।