Kakhara सबैको खबर सम्पूर्ण खबर
आज २९ औँ जनयुद्ध दिवस, रुकुम पश्चिमका पाँच र पूर्वका सबै तीन पालिकामा बिदा  

आज २९ औँ जनयुद्ध दिवस मनाइँदै छ । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा नदिए पनि विभिन्न जिल्लाका स्थानीय तहहरूले भने आज जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएका छन् । हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आइएको छ । सोही अवसरमा जनयुद्ध दिवस मनाउन रुकुम पश्चिमका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

२०५२ साल फागुन १ गते जनयुद्ध थालनी भएको सम्झनामा आज आठबीसकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिकाले भने आज सार्वजनिक बिदा दिएको छैन । त्यस्तै रुकुम पूर्वका तीन वटै स्थानीय तह सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले पनि बिदा दिएका छन् ।

जनयुद्ध दिवसकै अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आज गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै छ । गाउँपालिकाले हरेक वर्ष म्याराथन गर्दै आएको छ । सुरुमा गाउँपालिका एक्लैले म्याराथन सञ्चालन गरिरहेको थियो भने गत संस्करण देखि भने राष्ट्रिय खेलकुद परिषद् राखेप पनि जोडिएको छ । आज म्याराथनको छैटौँ संस्करण हुँदै छ । जसको सबै तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ । 

जिल्लाको चौरजहारी नगरपालिकामा दिवसको अवसरमा फुटबल प्रतियोगिता जारी छ । त्यस्तै बाँफिकोट गाउँपालिकाको वडा नम्बर २ को सहिद पार्कमा जनयुद्ध दिवसको अवसरमा सहिद मेला लाग्दै छ । मेलाका अवसरमा ब्याडमिन्टन लगायतका प्रतियोगिता आयाेजना गरिएकाे छ । जनयुद्ध दिवसको अवसरमा स्थानीय तहहरूले सम्पूर्ण सरकारी कार्यालय, विद्यालय लगायत सार्वजनिक सङ्घसंस्थाहरूमा बिदा दिएका छन् । 

नेपालको संविधान २०७२ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारको रूपमा रहेको सशस्त्र जनयुद्ध थालनी भएको दिन फागुन १ गते अर्थात् आजकै दिनलाई स्मरण गर्दै सार्वजनिक बिदा दिएको घोषणा गरेका छन् । आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनयुद्ध दिवस मनाउने निर्णय गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले बताउनुभयो । हरेक प्रकारका अन्याय र अत्याचारलाई जनयुद्धले अन्त्य गरेको उहाँले बताउनुभयो । 

जनयुद्ध नेपालको स्वर्णिम इतिहास भएकोले त्यसको सम्झनामा आज सार्वजनिक बिदा दिएको उहाँको भनाई छ । सङ्घीय सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउने र उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेकामा सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update