वर्गीय शोषणका विरुद्ध
लडेर ल्याएको परिवर्तन
अहँ, खोस्न कसैले सक्ने छैन
सचेत चित्कारलाई
नरभक्षी राक्षसहरूले दबाउन खोजेपनि
नसकेको इतिहास
घाम जतिकै छर्लङ्ग छ
ग्रामीण बस्तीहरूमा रातो झन्डा फहराउँदै
मुक्तिका सचेत आवाजहरूलाई बुलन्द गरी
दमन र प्रतिकारलाई बेवास्ता गर्दै
लालीमाका भञ्ज्याङ्गहरुमा जनपरेड गरेर
सुनौलो बिहानीका निम्ति
बलिदान गर्नुको विकल्प थिएन ।
(१)
जनयुद्धका सपना पूरा गर्नु नै थियो
जनताका आवाजहरूलाई क्रूर तानाशाहहरूले
भौतिक आक्रमणको विषय बनाएपनि
सिङ्गो देश वीरङ्गनाहरुको
रगतले लतपतिएकै हो
वर्गीय इलाकाहरू विजय उत्सवमा भएपनि
बा आमाले महासमरका छोराछोरी गुमाएपनि
विश्व विजेता बनेर
आत्म समर्पण गर्दै गरेनन्
विचरा ! कतिले लास नै बुझ्न पाएनन्
कतिको सिन्दूर पुछियो
कति टुहुरा भए
कति घरबार विहीन भए
वैरीका निर्मम ज्यादतीहरू सहेर पनि
आफ्नो वीरताको आस्था र विचारलाई
कहिल्यै ढल्न दिएनन् ।
(२)
आस्था र विचारमा प्रतिबद्ध भएकै कारण
निरङ्कुश राजतन्त्र ढलेर
गणतन्त्र स्थापना स्थापना भएको होइन र ?
शोषण र दमनका पर्खालहरू भत्किएर
नयाँ व्यवस्था आएसँगै
मुक्तिका केही नयाँ फूलहरू फुलेका हुन्
छिवाङ, खारा र पिलीका इलाकाहरू
स्वतन्त्र भएर
केही हदसम्म मुक्तिको श्वास फेरेका हुन्
मालचरीका बगालसम्म पुगेर
ओझेल रहेका बस्तीहरूमा
नयाँ स्नेहको माला गाँसी
न्याय र मुक्तिको बस्ती
बसाएको हैन र ?
(३)
सहिदहरूका इच्छा र चाहनाहरू पूरा गर्न
उनका रगतका पाइला एवम् डोबहरूमा
जनताका सुदिनका रेखाहरू कोर्नुछ
झिल्के दमाई, राधा गन्धर्व, धर्के यादव
अनि सुदूर र कर्णालीका बस्तीहरूमा
समावेशी मखमलीको माला गाँसिएको छ
वैरीहरूले तिम्रो रातो रगत
घटघट पिएतापनि
सपनाहरूमा विजयको जुलुस
मुक्तिको मञ्जिल तयार भएको छ
गौरवपूर्ण इतिहासको रक्षा गरी
देश घातीहरूको सपना क्षतविक्षत बनाउन
जनयुद्धका सपनाहरू, मूल्य र मान्यताहरूमा
एकतावद्ध सङ्गठित बहस आवश्यक छ ।
(४)
संविधान सभाबाट संविधान निर्माण भएसँगै
समृद्ध नेपालको खाका तयार गर्न
सङ्घर्ष, त्याग र बलिदानलाई
केन्द्रमा नै राखिनुपर्छ
बलिदानको गौरवपूर्ण इतिहास कायम गर्न
जनयुद्धका सपनाहरू
जसरी पनि पूरा गर्नुपर्दछ ।
लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि
भोलीको नेपाल
जनताले चाहेजस्तै बनाउनुपर्छ
सामन्ती, निरङ्कुश, केन्द्रीकृत एकात्मक राज्यको अन्त्य भई
विभेद र उत्पीडनमा रहेका नेपालीहरूका सुदिनका लागि
सार्वभौमिकता र भौगोलिक अखण्डतामा जोड गर्नुछ
राष्ट्रिय एकता र स्वाभिमानको मूल्यमा
सार्वभौम अधिकार सहित सुशासन कायम गर्दै
राष्ट्रको गरिमा र अस्तित्वलाई बचाउन
जनयुद्धका सपनाहरू पूरा हुनुपर्छ ।
(५)
बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक
देशीय मर्मलाई बुझेर
नेपाल र नेपालीहरुको एकता
सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई माथि उठाउनुपर्छ
सहिष्णुता र सामाजिक सद्भाव खलबल्याउनेहरूलाई
राज्यको मूलधारमा कानुनको छडी समाएर ल्याउनुपर्छ
सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्न
वर्गीय, जातीय, क्षेत्रीय उत्पीडनको आवाज बोल्नुपर्छ
समानता र सामाजिक न्यायको सुनिश्चितता गर्न
समतामूलक समाजको पुनः निर्माण गर्दै जानुपर्छ
नागरिक स्वतन्त्रता र मौलिक अधिकारहरूको अवधारणामा
लोकतान्त्रिक मूल्य र मान्यतालाई बोध गरी
शान्ति, सुशासन, विकास र समृद्धिको सपना कोर्नुपर्छ
समाजवादको नयाँ आधार तयार गर्न
जनयुद्धका सपना पूरा गर्नुपर्छ
(६)
तराइ, पहाड र हिमाल नेपालीहरूकै हुन,
मधेसी, महिला दलितको आवाज नेपालकै हुन्,
अधिकार र स्वायत्तता प्राप्तिमा
सहिदहरूका आस्था र विचारहरूले काम गरेका हुन,
जनयुद्धका मूल्य, भावना र मान्यताहरू
आम नेपालीहरूका साझा सम्पत्ति नै हुन्,
परिवर्तनका लागि चालिएका हिजोका कदमहरू
सही रूपमा कार्यान्वयन भएमा
सिङ्गो राष्ट्र भासिन्छ र ?
आवाज विहीनहरूको आवाज कमजोर बन्छ र ?
जनयुद्धका सपनाहरू रोकेर देश समृद्ध बन्छ र ?
सहिदका आस्था र विचारहरू भत्काएर हामी अग्लो हुन्छौ र ?
जनतालाई अधिकार सम्पन्न नबनाएसम्म स्वाभिमान बाँच्छ र ?
इतिहास र गौरवका गाथाहरू
एक–एक गरेर पढ्दै अगाडी बढ्नुपर्छ
हर हालत जसरी भएपनि
जनयुद्धका सपनाहरू पूरा हुनुपर्छ ।
(७)
लेखक मुसिकाेट खलंगा बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा उपप्राध्यापक हुनुहुन्छ ।