नेपालमा जनयुद्ध कुनै लहड वा आवेगमा सुरु गरिएको जस्तो मलाई लाग्दैन । इतिहासका विभिन्न क्रान्तिको सफलता र असफलताको अनुभवलाई संश्लेषण गरेर देशको परिस्थितिको मूल्याङ्कन गरी नेपालको क्रान्तिको बाटो तय गरिएको थियो । माओवादीले उत्पीडित वर्ग, क्षेत्र र समुदायको खास दुःख र मर्मलाई सम्बोधन गर्न सुरु गरेकामा कसैको दुई मत नहोला । होला त केवल पूर्वाग्रह मात्रै । लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र समावेशिता माओवादी जनयुद्धको परिणाम हो । १९ दिने जनआन्दोलनले छिटो निर्णायक बनाएको हो ।
जनयुद्धमा त्यति वेलाका युवा वा अग्रजहरू उत्साही भएर टाउकामा कफन बाँधेर, आफ्नो समाधिस्थल आफैँ खनेर सामेल नभएको भए अहिलेको व्यवस्था सम्भव थिएन । बेथिति, विसङ्गति र बेइमानीको पराकाष्ठा नै थियो । वाक स्वतन्त्रता केही मुठ्ठीभर व्यक्तिहरूसँग मात्रै सीमित रहेको थियो । अन्यायको विरुद्धमा आवाज उठाए जेल वा हिरासतमा पुग्नुपर्थ्यो । राज्य व्यवस्था केही मानिसहरूको एकलौटी थियो । त्यसलाई जनयुद्धले उलटपुलट पारिदिएको छ । जो हामी आफै भागिरहेका छौँ ।
जनयुद्ध एक युगान्तकारी कार्य वा पहल थियो । जसले २५० वर्षदेखि चलिआएको एउटा अन्यायपूर्ण परिपाटीको अन्त्य गर्यो । सामन्ती युग समाप्त गर्यो । नेपाली जनताको मुक्तिकामी सङ्घर्षको सर्वोच्च रूप थियो । लामो समयदेखि थिचोमिचोमा परेका जनताको चेतना र जागरूकताको परिणाम थियो । विचार, आदर्श, सिद्धान्त र राजनीतिक रूपले प्रेरित भएर सुरु गरेको बलिदानपूर्ण सङ्घर्ष थियो । सांस्कृतिक रूपान्तरण नहुँदा यो ओझेलमा परेको मात्रै हो । किनकि संस्कृति र राजनीति एक अर्कामा परिपूरक हुन्छन् । एकको अभावमा अर्कोको अर्थ रहन्न । कृषि र अर्थतन्त्र, विकासका नमुना निर्माण, जनताको जीवनस्तरको समृद्धिकरण, राष्ट्रको सशक्तीकरण, विधि र नियमको पूर्ण परिपालना, समाजमा मर्यादा र अनुशासनको स्थापना आदिद्वारा मात्रै सांस्कृतिक रूपान्तरण देखिन्छ । राजनैतिक दार्शनिक हिसाबले पनि जनयुद्धको सांस्कृतिक सार यही थियो होला जस्तो लाग्छ ।
तर, आज परिस्थिति भिन्नै भएको छ । उद्देश्य र गन्तव्य विपरीतका गतिविधिहरू भइरहेका छन् । एउटा राजा गए, अरू कैयौँ राजा जन्मिए । केही माओवादीको जीवनशैली सम्भ्रान्त वर्गमा परिणत भएको छ भने केहीको अवस्था नरकीय भएको छ । जनताको जीवनस्तरमा खास बदलाव आएन । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुन सकेन । हुने सङ्केत पनि देखिन्न । सबैले रोजगारी पाउने अवस्था आएन । उद्योगधन्दा कलकारखानाको वृद्धि भएको छैन । वृद्धि हुने पनि देखिन्न । समानुपातिक व्यवस्था माओवादीकै लागि पनि कमाऊ धन्दा भइरहेको छ । सबैभन्दा विरक्त लाग्दो त माओवादीहरू नै माओवादी जस्ता रहेनन् । नीति, विधि र क्रियाकलापमा माओवादी नभएपछि जनयुद्धको मर्म कसरी जोगिन्छ ? यो मामिलामा माओवादी पार्टी र माओवादीहरू पूर्णतः असफल भएका छन् । अरूले जनयुद्धलाई स्वीकार गरुन् या नगरुन् । त्यसलाई वास्ता नगरेर सबै माओवादीहरू एक पटक फेरी टाउकोमा कफन बाँधेर माओवादी नीतिमा अघि बढे सबैलाई स्वीकार गर्न बाध्यता आइलाग्नेछ । जनयुद्ध शब्द सबैलाई गौरवपूर्ण र प्रिय लाग्नेछ ।
लेखक मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ भने पब्लिक क्याम्पस प्राध्यापक सङ्घ,नेपालका पूर्व उपमहासचिव हुनुहुन्छ ।