आज महान् जनयुद्ध दिवस,नेपाली धर्तीमा सर्वहारा श्रमजीवी वर्ग उत्थानका लागि आकाश गर्जेको, धर्ती हल्लेको दिन ! यति मात्र होइन हामी जस्ता दोस्रो दर्जाका एक थरी समुदायको मुक्तिका खातिर दासताका जन्जिर चुँडाल्न निरङ्कुश सत्ताका विरुद्ध धावा बोलेको महान् दिन फागुन १ गते,मेरो लागि राजनैतिक,सामाजिक मात्र नभई कैयन हिसाबले व्यवहारिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ उक्त दिन ।,र आगामी दिनमा पनि मेरो राजनैतिक आस्था, विचार र सिङ्गो शरीर जहाँ जुन अवस्थामा रहे पनि यो ऐतिहासिक दिन फागुन १ गते मेरो लागि हर्ष,उल्लास र नयाँ ऊर्जा प्राप्तिकै दिन हुनेछ भन्ने विश्वास लिएको छु । तर हिजो उक्त महान् दिनको सुरुवात गर्ने जनयुद्धका पहलकर्ता नेता कमरेडहरू शान्ति प्रक्रियाका दुई दशक नबित्दै महान् जनयुद्धका सारा सपना र उपलब्धिहरूलाई किनारा लगाउँदै वैचारिक रूपमा स्खलित हुनुले महान् जनयुद्धका तमाम उपलब्धि दिनानुदिन गुम्दै-गुम्दै शून्य तिर झरिरहेको अवस्था छ !
क्रान्तिको आँधीबेहरीबाट बचेका लाल योद्धाहरूलाई क्रान्तिकारी सीमारेखा भित्रैबाट आधारभूत आवश्यकताहरू परिपूर्ति गर्ने ठोस नीति बनाएर तत्कालीन बलियो क्रान्तिकारी सङ्गठनलाई शान्ति प्रक्रिया पछि सांस्कृतिक रूपान्तरण सहित निरन्तर देश निर्माणमा लगाउनुको सट्टा मूल नेतृत्व नै आफ्ना आसेपासेहरूलाई पावररूपी हतियार भिराएर अवैध स्रोतहरूकै सिँढीबाट नवधनाढ्यको सूचिमा पुगेपछि, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको शंखघोष गरेका मुख्य नेतृत्वहरू नै गेरु पहिरनमा घण्टा हल्लाउँदै हरि ॐ तत् सत्...गरे पछि, हिजो जनवादी विवाहको नाममा जनताका एउटा, बोका र २ धार्नी रक्सी समेत कब्जा गर्न आदेश दिएकाहरू आज आफ्ना छोराछोरीको विवाहमा करोड खर्चिन थालेपछि के फागुन १ महान् र ऐतिहासिक दिन रहिनै रहला र कमरेड ? अर्को कुरा उता माओवादीको नेतृत्वमा सञ्चालित सरकारले फागुन १ को सार्वजनिक बिदा नै मुक्ति यात्राको निरन्तरता सोच्ने र प्रतिपक्ष र विरोधीहरूले असफल बनाउन सबै संयन्त्र प्रयोग गर्नै यी दुवै कुरा गलत जस्तो लाग्छ मलाई !
वर्गीय मुक्तिका लागि जनयुद्धको उद्घोष भएको महान् दिन फागुन १ गतेलाई कम्युनिस्ट सिद्धान्त अनुरूप समाजवादी व्यवस्थामा पुग्न ठुला-ठुला सहकारी, कम्युनहरूको उद्घाटन गर्ने दिनको रूपमा लिनुपर्छ उक्त दिनलाई भन्ने छ मेरो बुझाई- वर्षभर कम्युनिस्ट सरकारको नेतृत्वमा यति घर गरिबीको रेखा बाहिर आएको घोषणा गर्ने दिनको रूपमा मनाउनु पर्छ भन्ने लाग्छ मलाई ! सर्वमान्यता जनवादी शैलीमा अन्तरजातीय विवाहको उद्घाटनको रूपमा मनाउनु पर्छ जस्तो जस्तो लाग्छ मलाई । तब मात्र यी र यस्तै मुक्तिका स्वर्णिम सपनाहरूको गहिराइमा पुग्दै गर्दा आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूको भावनाले शान्ति पाउनेछन् अनि हामी बाँचेका युद्ध यात्रीहरूको समेत चर्किएको मनमा मलमपट्टी हुनेछ । धन्यवाद
लेखक जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुहुन्थ्याे भने हाल नेकपा एमालेका नेता हुनुहुन्छ ।