रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित माैराखारा अल्ट्रा गुरिल्ला म्याराथन अन्तर्गत महिला तर्फ जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम हुनुभएको छ । निर्धारित दुरी ३४ किलोमिटर तीन घण्टा ११ मिनेटमा पुरा गर्दै रावल प्रथम हुनुभयो । ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरेकी सानीभेरी ३ रुकुम पश्चिमकी सुशीला पुन दोस्रो हुनुभयो ।
खोटाङकी निर्मला राई तृतीय भएको प्रतियोगिताको व्यवस्थापक खेलकुद विकास समिति सानीभेरीले जनाएको छ । राईले निर्धारित दुरी तीन घण्टा २७ मिनेटमा पूरा गर्नुभयो । प्रतियोगितामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
महिला तर्फको म्याराथन सानीभेरी गाउँपालिका ३ को बेलटापु खेल मैदानबाट सुरु भएर मेघा बलिवाङ, जाजरकोटको रिम्ना, त्यसपछि सानीभेरी गाउँपालिकाकाे चाइनाबगर, गिठाकाेट, सिम्ली, मुसिकाेटकाे छिवाङजिउजा, सानीभेरीकाे ज्यामिरे, चाैखे हुँदै पुनः बेल्टापु पुगेर सकिएको थियो ।
महिला म्याराथनमा प्रथमले ६० हजार, द्वितीयले ४० हजार, तृतीयले ३० हजार, चौथोले १५ हजार र १० औँ स्थानसम्म हासिल गर्नेले ३-३ हजार पुरस्कार पाउने बताइएको छ । पुरुष म्याराथन पनि जारी छ । जनयुद्ध दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले म्याराथन आयोजना गरेको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् राखेपले सहयोग गरेको छ ।