रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ३ बेल्टापुमा जनयुद्ध दिवसको अवसरमा मगंलबार छैटौँ राष्ट्रिय मौराखारा अल्ट्रा गुरिल्ला म्याराथन सम्पन्न भएको छ । म्याराथनमा पुरुषतर्फ खुम्बु पासाङल्हामु गाउँपालिका ४ सोलुखुम्बुका अर्जुन राई कुलुङ र महिला तर्फ गुठीचौर गाउँपालिका ३ जुम्लाकी राज्यलक्ष्मी रावलले उपाधि हात पार्नुभएको छ ।
पुरुष तर्फ चार घण्टा ४० मिनेटमा निर्धारित दुरी ४८ किलोमिटर पार गरी राईले उपाधि हात पार्नुभयो । भने महिला तर्फ तीन घण्टा १२ मिनेटमा निर्धारित दुरी ३४ किलोमिटर पार गरेर जुम्लाकी रावलले उपाधि हात पार्नुभयो ।
तस्तै पुरुष तर्फ निर्धारित दुरी चार घण्टा ५९ मिनेटमा पार गरेका रुकुम पूर्व भूमे गाउँपालिकाका शक्तिराम रोका दोस्रो, पाँच घण्टा एक मिनेटमा निर्धारित दुरी पार गरेर सानीभेरी गाउँपालिका ३ रुकुम पश्चिमका भुवन ओली तेस्रो र पाँच घन्टा १५ मिनेटमा निर्धारित दुरी पार गरेर रुकुम पश्चिमको मसिकोट नगरपालिका ७ का दुर्गाप्रसाद बुढा चौथो भएको आयोजक सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
महिला तर्फ तीन घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरेर सानीभेरी ३ रुकुम पश्चिमकी सुशीला पुन दोस्रो हुनुभयो । तीन घण्टा २७ मिनेटमा निर्धारित ३४ किलोमिटर पार गरेर खोटाङकी निर्मला राई तेस्रो हुँदा चार घण्टा सात मिनेटमा निर्धारित दुरी पार गर्दै सानीभेरी गाउँपालिका ३ रुकुम पश्चिमकी कविता बस्नेत चौथो भएको घर्तीले जानकारी दिनुभयो ।
पुरुषतर्फ विभिन्न जिल्लाका ३५ र महिला तर्फ १२ गरेर जम्मा ४७ जना धावकले गुरिल्ला म्याराथनमा सहभागिता जनाएका उहाँको भनाई छ ।
पुरुष तर्फ प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र १० औँ स्थानसम्म प्राप्त गर्ने व्यक्तिले तीन–तीन हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै महिला तर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र १० औँ स्थानसम्म प्राप्त गर्नेलाई तीन–तीन हजारका दरले पुरस्कार प्रदान गरेको प्रतियोगिता व्यवस्थापन सानीभेरी खेलकुद विकास समितिले जनाएको छ ।
तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका माओवादीका जनमुक्ति सेनाहरू हिँडेको बाटोमा धावकलाई दौडाइएको थियो । जनयुद्धको अवसरमा गाउँपालिको हरेक वर्ष फागुन १ गते गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको छ ।
यस म्याराथनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आर्थिक सहयोग गर्दै आएको छ । गत संस्करण देखि यो प्रतियोगितालाई राखेपले मान्यता दिँदै आफ्नो वार्षिक क्यालेन्डरमा समेत समावेश गरेको छ । यो छैटौँ संस्करण हो । धावकहरूलाई ‘जनयुद्ध’मा माओवादी सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म दौडाइएको थियो ।