Kakhara सबैको खबर सम्पूर्ण खबर
बलिदानको निशानी पिपलकाे जनवादी मेला 
पिपलमा २०५७ सालमा पहिलाे पटक लागेकाे जनवादी मेला ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का कुसोमलाल खड्का ७९ वर्षका हुनुभयो । उहाँले थाहा पाए देखी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा लाग्दै आएको जनवादी मेलामा सहभागी हुँदै आउनु भएको छ । 'म सुरुका वर्ष देखी नै निरन्तर मेला हेर्न पुगेको छु, मेला पहिले पनि यसै गरी लाग्ने गर्थ्यो खड्काले भन्नुभयो, पहिले पनि गाउँको चारै तिर झन्डा राखिएको हुन्थ्यो, मेलामा ध्वजापताका हुन्थे ।' तर हाल मेला मनाउने शैली केही फरक भएको उहाँले बताउनुभयो । त्यो समयमा मेलामा नाचगान भए पनि अहिलेको जस्तो खेलकुद प्रतियोगिताको आयोजना गर्ने चलन थिएन । 

बाँफिकोट १ का कलिभान गिरीले पनि अहिलेसम्म जनवादी मेला हेर्न कुनै वर्ष छुटाउनु भएको छैन । गिरी मात्र होइन, उहाँको सिँगारु नाच सहितको टोली मेलामा सहभागी हुन्छ । तत्कालीने नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको फाल्गुन १ गते अर्थात् आजको दिन २९ वर्ष पुरा भयो । फाल्गुन १ गतेलाई माओवादीले ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाउने गर्दछ । 

जनयुद्धकै क्रममा १५ फाल्गुन २०५२ सालमा पहिलो सामूहिक हत्या भयो । राज्य पक्षबाट साबिकको पीपल गा वि स तथा हालको बाँफिकोट गाउँपालिका २ नम्बर वडाको मेलगैरीमा ६ जनाको सामूहिक हत्या पछि २०५६ साउन ६ गते वडाको घटाल्ना खाली भन्ने ठाउँमा चार जनाको हत्या भएको थियो । तिनै सहिदहरूको सम्झनामा तत्कालीन नेकपा माओवादीले २०५७ सालबाट वडामा जनवादी मेला लगाउन सुरु थियो । २०५७ साल पहिलो पटक वडामा ठुलो मेला लागेको थियो । सोही वर्ष देखी वडामा हरेक वर्ष फाल्गुन १ गते जनवादी मेला लाग्ने गरेको छ । उक्त वर्ष देखी यता हरेक वर्ष फाल्गुन १ गते वडामा ठुलो जनवादी मेला लाग्दै आएको छ । 

426811503_1388636271761717_254814998068997406_n1707825878.jpg
२०७८ सालमा लागेकाे जनवादी मेला ।

२०५७ साल देखी ०७३ सालसम्म मेलाको नेतृत्व माओवादीले गर्ने गरेको थियो । मेलामा हुने खेलकुद कार्यक्रम देखी झाँकी प्रदर्शन सम्मको आर्थिक खर्च माओवादीले नै व्यवस्थापन गर्ने गरेको वडा नम्बर २ का राजेश बुढा क्षेत्रीले बताउनुभयो । ०७४ सालमा स्थानीय सरकार बनेपछि भने जनवादी मेला सरकारले नै लगाउने गरेको छ । जनवादी मेलालाई व्यवस्थित बनाउनको लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । मेलामा विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरू हुँदै आएका छन् । यो वर्ष पनि जनवादी मेला लागेको छ । मेलाको अवसरमा महिला पुरुष ब्याडमिन्टन, लोक दोहोरी, कुर्सी रेस र भाले तान्ने प्रतियोगिता जारी छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update