रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा आन्तरिक राजस्व तर्फ ५८.४ प्रतिशत प्रगति हासिल गरेको छ । दुई करोड ३२ लाख आन्तरिक राजश्व प्रक्षेपण गरेकोमा पुस मसान्तसम्म एक करोड ३५ लाख ५० हजार तीन सय ३६ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो ।
घर जग्गा रजिस्ट्रेसन, मालपोत, दहत्तरबहत्तर, मनोरञ्जन, व्यवसाय दर्ता तथा नवीकरण, बहाल, बहालविटौली, नगर बस लगायतका शीर्षकबाट नगरपालिकाले आन्तरिक राजश्व सङ्कलन गर्दै आएको छ । राजश्व सङ्कलन कार्यलाई कडाइपूर्वक कार्यान्वयन गर्न राजश्व उपशाखासहित सबै वडा कार्यालयहरूको लक्ष्य निर्धारण गरिएको छ ।
गत ६ महिनामा एक करोड ५० लाख दुई सय ९२ लक्ष्य निर्धारण गरेकोमा राजश्व उपशाखाले एक करोड १४ हजार ६ सय २० रुपैयाँ राजश्व सङ्कलन गरेर सबैभन्दा बढी ६७ प्रतिशत प्रगति गरेको छ । त्यसै गरी वडा कार्यालयतर्फ सबैभन्दा बढी वडा नम्बर ९ ले सात लाख ८६ हजार पाँच सय १८ लक्ष्य निर्धारण गरेकोमा ६ लाख २१ हजार चार सय ९९ रकम राजस्व सङ्कलन गरेर ७९ प्रतिशत प्रगति हासिल गरेको छ ।
१३ लाख चार हजार चार सय ८९ लक्ष्य निर्धारण गरेकोमा वडा नम्बर १ ले सात लाख एक हजार एक सय ११ रकम राजश्व सङ्कलन गरेर ५४ प्रतिशत प्रगति हासिल गरी दोस्रो स्थानमा रहेको छ । राजश्व चुहावट हुन नदिन राजश्व उपशाखा, नगर प्रहरी, वडा कार्यालय लगायतका संयन्त्रहरूलाई थप सक्रियतापूर्वक परिचालन हुन निर्देशन निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
आन्तरिक राजस्वको सक्षमता वृद्धि भएमा मात्र स्थानीय तह आत्मनिर्भर बन्ने भएकोले करको दायरालाई फराकिलो र सङ्कलन कार्यलाई व्यवस्थित बनाउँदै लिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । स्वतःस्फूर्त रूपमा कर तिर्ने संस्कारको विकासका लागि करदाता शिक्षालाई थप प्रभावकारी बनाउँदै लिने चौरजहारी नगरपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा चौरजहारी नगरपालिकाले लक्ष्यभन्दा बढी अर्थात् १०४ प्रतिशत प्रगति हासिल गरेको थियो । यस वर्ष पनि लक्ष्य अनुसार राजश्व सङ्कलन हुने विश्वास लिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।