सहिद परिवार समाज बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको आयोजना तथा बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा सहिद परिवारलाई सम्मान गरिएको छ । जनयुद्ध दिवसको अवसरमा मङ्गलवार २ नम्बर वडाको मेलगैरी सहिद पार्कमा सहिद परिवारलाई सम्मान गरिएको हो । सशस्त्र जनयुद्धको समयमा विभिन्न घटनामा परी सहादत प्राप्त गरेका ९६ जना सहिदका परिवारलाई सम्मान गरिएको छ ।
सहिद परिवारलाई काँसको बटुकाले सम्मान गरिएको हो । प्रत्येकलाई समान दुई-दुई वटा काँसको बटुका वितरण गरिएको थियो । बाँफिकोट ८ कि मनसरी बाँठाले सहिद परिवारलाई सम्झेकोमा खुसी व्यक्त गर्नुभयो । सरकारले सहिद परिवारलाई गरेको सम्मानले घाउमा मलम थपिएको उहाँले बताउनुभयो । हरेक वर्ष सहिद परिवार समाज बाँफिकोटले सहिद परिवारलाई सम्मान गर्दै आएको छ ।
सहिदको सम्झनामा आफन्तको हौसला बढाउन सहिद परिवारलाई सम्मान गरेको सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । एक कार्यक्रमका बिच सहिद परिवारलाई सम्मान गरिएको हो । सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष खत्रीको अध्यक्षता रहेको कार्यक्रममा बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, बाँफिकोट गाउँपालिका १० वटै वडाका वडा अध्यक्षहरू विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।