प्रभु बैङ्क आठबिसकोटमा कार्यरत नीरजविक्रम शाह विरुद्ध बैङ्किङ कसुर सम्बन्धी जाहेरी दर्ता भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडीमा रहेको बैङ्कमा अप्रेसन इन्चार्जका रूपमा कार्यरत शाह झन्डै डेढ करोड रुपैयाँ अपचलन गरेर फरार भएको भन्दै बैङ्कले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जाहेरी दर्ता गराएको हो ।
बैङ्कको प्रदेश कार्यालय सुर्खेतले मङ्गलवार जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । घटना बाहिरिएपछि आन्तरिक अनुसन्धानका लागि प्रभु बैङ्कको प्रदेश कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिना नेतृत्वको टोली आएको थियो ।
उक्त टोलीले आन्तरिक अनुसन्धानबाट शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको आरोप सहित जाहेरी दर्ता गरेको डिएसपी भट्टराईले बताउनुभयो । शाह विगत ६ वर्ष देखि बैङ्कमा कार्यरत थिए । उनी विरुद्ध जम्मा गरिदिनु भनेर बचत कर्ताले दिएको लाखौँ रकम जम्मा नगरिदिएको र केही बचतकर्ताको रकम निकालेर अपचलन गरेको आरोप लागेको छ ।
जाहेरी परेसँगै घट्नाको अनुसन्धान सुरु गरिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । ‘यस्ता घटनामा ६ महिनासम्म अनुसन्धान गर्न पाउने प्रावधान हुन्छ, जाहेरी परेसँगै प्रक्रिया अघि बढेको छ, अनुसन्धान सकिएपछि मात्र घटनाबारे थप स्पष्ट हुने छ,’ उहाँले भन्नुभयो ।
शाह माघ २० गते देखि फरार छन् । उनले १२ दिनको बिदा मागेका थिए । शाखा प्रमुख डम्बर गौतम बिदामा रहेका कारण निमित्त प्रमुखको जिम्मेवारी शाहलाई नै थियो । शाखा प्रमुख गौतमले आफू बिदामा रहेकोले बिदा नमिल्ने बताएपछि शाह बिदा स्वीकृत नगराई बिदा बसेको थिए । त्यसपछि उनी सम्पर्कमा नरहेको बैङ्कले जनाएको छ ।