सहिदको सम्झना लाग्ने जनवादी मेला सम्पन्न भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा लाग्ने मेला बुधवार सम्पन्न भएको हो । जनयुद्धको समयमा १५ फागुन २०५२ सालमा साबिकको पीपल गा वि स तथा हालको बाँफिकोट गाउँपालिका २ नम्बर वडाको मेलगैरी स्थित एक घरमा भएको सामूहिक हत्यामा ६ तथा सोही वडाको घटल्ना खाली भन्ने ठाउँमा चार जनाको २०५६ साउन ६ गते राज्य पक्षबाट बाट हत्या भएको थियो । दुई ठाउँको घटनामा वडाका दश जना सर्वसाधारण ज्यान गुमाएका थिए ।
तिनै सहिदहरूको सम्झनामा तत्कालीन नेकपा माओवादीले २०५७ सालबाट वडामा जनवादी मेला लगाउन सुरु गरेको थियो । २०५७ सालमा पहिलो पटक वडामा ठुलो मेला थियो । सोही वर्ष देखी यता २०७३ फागुन १ गते सम्म माओवादीले मेला लगाउँदै आएको थियो । स्थानीय सरकार बनेपछि ०७४ बाट सरकार मार्फत वडामा जनवादी मेला लाग्ने गरेको छ । मेलालाई व्यवस्थित बनाउन विभिन्न खेलकुद प्रतियोगिता हुँदै आएका छन् । मेलामा खर्च हुने पुरस्कारको व्यवस्थापन गाउँपालिकाले गदै आएको छ ।
यो वर्ष पनि वडामा मेला लागेको थियो । मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । मेलाको अवसरमा महिला तथा पुरुष ब्याडमिन्टन, लोक दोहोरी, कुर्सी रेस, घैँटो फोर लगायतका प्रतियोगिता सञ्चालन भएका थिए ।