रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा जनवादी मेलाको अवसरमा आयाेजित पुरुष ब्याडमिन्टन तर्फ डिलबहादुर नाथ र कमल दाहालको जोडी पहिलो भएको छ । बुधवार भएको फाइनलमा रुकुम पूर्वको गङ्गा पुन र मदन बिसीको जोडीलाई पराजित गर्दै स्थानीय डिलबहादुर र कमलको जोडी विजेता भएको छ ।
विजेता जोडीले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता जोडीले नगद ११ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको छ । यस्तै सेमिफाइनल पुगेका नवीन बोहरा र जीवन बोहरा तथा ओमप्रकाश पुन र गिरीभान पुनको जोडीले समान तीन हजार पाँच सय रुपैयाँ साथमा मेडल र प्रमाण पत्र पाएको मेलगैरी युद्ध पर्यटन तथा जनवादी मेला व्यवस्थापन समितिले जानकारी दिएका छ ।
यस्तै महिला ब्याडमिन्टनमा शारदा चन्द र निर्मला मल्लको जोडी पहिलो भएको छ । फाइनलमा रामकुमारी विष्ट र डिला पुनको जोडीलाई पछि पार्दै शारदा र निर्मलाको जोडी पहिलो भएको हो । विजेता भएको जोडीले नगद दश हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता भएको रामकुमारी र डिलाको जोडीले नगद सात हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छन् ।
सेमिफाइनल पुगेका भिमकुमारी मल्ल र पुष्पा मल्ल तथा टीका डाँगी र धनसरा पुनको जोडीले समान दुई हजार पाँच सय रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका जनवादी मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यस्तै लोक दोहोरी प्रतियोगितामा फुलमाया विकको समूह प्रथम, देउसरा केसीको समूह दोस्रो र प्रतिभा पौडेलको समूह तेस्रो भएको छ । प्रथम, दोस्रो, र तेस्रोलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै कुर्सी रेस प्रतियोगितामा नवीन केसी प्रथम, चन्द्रबहादुर विक दोस्रो र धनकुमारी नाथ तेस्रो हुनुभएको छ ।
प्रथम, दोस्रो र तेस्रोले क्रमशः १५ सय, एक हजार र पाँच सय रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएको मेलगैरी युद्ध पर्यटन तथा जनवादी मेला समितिका अध्यक्ष लालबहादुर केसीले जनाकारी दिनुभयो । उहाँका अनुसार घैँटाेफोर प्रतियोगितामा ध्रुव पौडेल पहिलो हुनुभएको छ । पौडेललाई नगद एक हजार पुरस्कार दिइएको छ । यस्तै मेला झाँकी सहित सहभागी भएका १७ समूहलाई पनि पुरस्कृत गरिएको थियो ।