रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सुन्दर मिलेको बस्ती र त्यहाँको कला संस्कृतिले यो गाउँको साख बढाएको छ । यो गाउँ मुख्य पापिनी मेलाका कारण पनि चर्चित छ । माथिपट्टि अग्ला भिर पहरा अनि गाउँलाई छिचोल्दै अघि बढेको मध्यपहाडी लोकमार्ग । समग्रमा साँखका नामले परिचित भएपनि यहाँ धेरै टोलहरू छन् । मुख्य गरी तलिगाउँ र माथि गाउँका नामले साँखलाई जोडेको छ । परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले निर्माण गरिएका घर साँखगाउँमा देख्न सकिन्छ । विकास क्रमसँगै पछिल्लो समय गाउँमा पक्की घरहरू समेत निर्माण भइरहेका छन् ।
यहाँ आउने आन्तरिक तथा बाध्य पर्यटकलाई टक्क परेका घरहरू र गाउँको बिच भागमा रहको दह, अनि मध्यपहाडी लोकमार्ग देखि आधा घण्टा उकालो हिडेपछि पुगिने ठुली दहले आकर्षित गर्छ । गाउँको बिचमा रहेको दहमा हरेक वर्ष माघ १५ गते राती पापिनी विवाह गरिन्छ । नाटकीय रूपमा बर्सेनि पालो पालो तलिगाउँ र माथि गाउँकी किशोरीका बिचमा विवाह गर्ने परम्परा छ । यो त यहाँको परम्परा नै बसिसकेको छ । परापूर्वकाल देखि यो चलन साँखमा चल्दै आएको छ । यो परम्पराले साँखगाउँलाई थप प्रचारमा सहयोग पुर्याएको छ ।
मध्यपहाडी छेवैमा रहेकाले गाडी तथा पैदल यात्रा गर्ने व्यक्तिहरू साखँगाउँ र गाउँको बिच भागमा रहको दह अवलोकन गरेर फर्किने गरेका छन् । माथिगाउँ केही भिरालो भूभाग रहेको छ । भने तलिगाउँ समथर भूभागले भरिपूर्ण अति सुन्दर छ । शनिवारको बिदा मिलाएर रुकुम पश्चिम र रुकुम पूर्वका विभिन्न ठाउँबाट मान्छेहरू साँखगाउँमा घुम्न आउने गरेका छन् । साढे तीन सय घरहरू मिलेर चिटिक्क परेको गाउँको मुख्य आकर्षण दह हो । साँखगाउँमा विशेष गरी गहुँ, जौ र मकै तथा आलु राम्रो उत्पादन हुने गरेको छ ।
यहाँका नागरिकको मुख्य पेसा कृषि, पशुपालन र व्यापार व्यवसाय नै हो । पछिल्लो समय मध्यपहाडी राजमार्ग सञ्चालनमा आएसँगै घरघरै व्यापार व्यवसाय गर्ने व्यक्तिको सङ्ख्या पनि बढेको छ । रुकुम पश्चिमको पूर्वमा पर्ने साँखगाउँ जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै पर्छ । मुसिकोट नगरपालिका ७ मा अवस्थित साँखगाउँ मध्यपहाडी लोकमार्गले सुगम मात्र बनाएको छैन । यहाँका नागरिकलाई आर्थिक रूपमा पनि सहज बनाएको छ । केही वर्ष अघिसम्म दुर्गमको महसुस गरिरहेका साँखवासी मुख्य गरी मध्यपहाडी लोकमार्गका कारण हाल सुगम महसुस गर्न थालेका छन् । यस लोगमार्गले नै साँख गाउँको मुहार फेरिँदै गएको छ ।
मध्यपहाडी लोकमार्ग साँखमा नजोडिँदासम्म जिल्ला सदरमुकाम खलङ्गा पुगेर राप्ती राजमार्ग हुँदै सङ्घीय राजधानी काठमाडौँ लगायतका ठाउँ जानुपर्ने बाध्यता थियो । अहिले भने घर छेवैबाट मध्यपहाडी लोकमार्ग हुँदै सङ्घीय राजधानी लगायतका ठाउँ पुग्न सकिने स्थानीय विकाश पाण्डे बताउनुहुन्छ । ‘पहिले काठमाडौँ पुग्न खलङ्गा जानुपर्थ्यो मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि भने घर छेवैबाट बस चढेर काठमाडौँ लगायत देशका विभिन्न सहरमा पुग्न सकिन्छ । यो सडक खण्डबाट छिटो पुगिने भएकाले कुनै काम परेमा मध्यपहाडी भएर नै काठमाडौँ जाने गरेको छौँ’ पाण्डेले भन्नुभयो ।
मध्यपहाडी लोकमार्ग सञ्चालन नहुँदासम्म रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक समेत सङ्घीय राजधानी जानको लागि राप्ती राजमार्ग भएर सल्यान, दाङ हुँदै जानुपर्ने बाध्यता थियो । अव भने रुकुम पश्चिमका समेत दुरी छोटो हुने भएकाले मध्यपहाडी लोकमार्गको यात्रा गर्न मन पराउँछन् । र सोही मार्ग हुँदै यात्रा गर्नेको सङ्ख्या बढेको छ । सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल पनि बढेको छ । विकास निर्माणले पनि गति लिएको छ । गाउँमा पक्की भवन बन्न थालेका छन् ।
एक दशक भित्र आएको परिवर्तन देखेर स्थानीय ८० वर्षीय पूर्णबहादुर बुढा अचम्मित हुनुहुन्छ । एक दशक पहिलेसम्म कल्पना नै गर्न नसकिने घर अगाडीबाटै बस गुड्दा बुढालाई अचम्म लागेको छ । बुढालाई अचम्म मात्र लागेको छैन सडक क्षेत्र लगायत अन्य विकास निर्माणमा ठुलो परिवर्तन भएको देख्दा खुसी समेत लागेको बुढाले सुनाउनुभयो । ‘कुनै समय दैनिक उपभोग्य सामग्री ल्याउनको लागि एक महिना पैदल हिँडेर दाङको कोलाइवास, नेपालगन्ज लगायतका ठाउँमा जानुपरेको सम्झिँदै बुढाले अहिले निकै नै सहज भएको बताउनुभयो । घरमा उत्पादन भएको घ्यु लिएर जाने र त्यो बेचेर नुन ल्याएको स्मरण उहाँमा ताजा नै छ । ‘अहिले त पैसा भएपछि घरभित्रै खाद्यान्न सामग्री आइपुग्छ, यस्तो सुविधा हाम्रो पालामा आउला भन्ने लागेको थिएन, खाली खुट्टै पनि हिँडियो, अहिले कल्पना बाहिरको विकास भएजस्तो लाग्छ’ बुढाले भन्नुभयो । पहिले पहिले दाङ, नेपालगन्ज गएर गाडी देखिएको स्मरण गर्दै आज भोली घरछेवैमा गाडी गुड्दा खुसी लागेको उहाँको भनाई छ ।
‘पहिले मिठो खान दसैँ तिहार पर्खिनु पर्थ्यो, अहिले त दिनै पिच्छे आफूलाई जे खान मन लाग्छ गाउँमै पाइन्छ, पहिले यस्तो थिएन दालभात खान पनि दसैँ तिहार पर्खिनु पर्थो, स्थानीय ६५ बर्सिया मनकला थापा भन्नुहुन्छ । मिठो खान नपाइने, राम्रो लगाउन नपाइने गरेका दिन उहाँ अहिले पनि सम्झिनु हुन्छ । विगतका भोगाई सुनाई नकिने उहाँको भनाई छ । पछिल्लो समयको विकास देखेर भने उहाँ पनि खुसी लाग्छ । विकासले गति लिन नसकेको युवाहरूको भनाइमा उहाँ सहमत हुनुहुन्न । आफ्नाे पालामा भोग्नुपरेका समस्याको बारेमा समेत युवाहरूलाई बताउने गरेको र आजको विकास निर्माणले जनजीवनमा परिवर्तन ल्याएको थापाको बुझाई छ ।
साँखगाउँ जिल्ला सदरमुकाम नजिक रहेकाले पनि शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माण सँगै पर्यटकीय हिसाबले जोडिन थालेको छ । गाउँमै माध्यमिक तहको पढाई, गाउँमै स्वास्थ्य संस्था, सुरक्षाका हिसाबले गाउँमै प्रहरी चौकीले पनि यहाँका नागरिकलाई सहज भएको छ । प्रशासनिक कामको लागि जिल्ला सदरमुकाम आउनुपर्यो भने पनि आधा घण्टामा पुगिन्छ । गाउँमै अटो रिक्सा सञ्चालन भएकाले गाडी पर्खिनुपर्ने समस्या पनि स्थानीयलाई छैन । शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारका हिसाबले साँखगाउँ अगाडी बढेको छ । विद्युतिकरणका हिसाबले पनि साँखगाउँ सुगम छ ।
गाउँमा विकास तीव्र हुँदा पनि युवाहरू भने विदेश पलायन हुँदा चिन्ता लागेको अवकाश प्राप्त शिक्षक काशीराम पाण्डे बताउनुहुन्छ । व्यापार व्यवसाय गर्न सके गाउँमै राम्रो गर्न सकिने उहाँको बुझाई छ । साँखगाउँमा खाद्यान्न बाली गहुँ, जौ, मकै बाहेक तरकारी खेती पनि राम्रो हुने गरेको छ । गाउँमा उत्पादन भएको तरकारी विक्रीमा बजारको समस्या नरहेको पाण्डेको भनाई छ । बजारीकरणको लागि मध्यपहाडी लोक मार्ग लगायत अन्य सडकले ठुलो सहयोग पुर्याएका छन् ।
यहाँका स्थानीयहरू गाई, भैँसी, बाख्रा, कुखुरा पालनमा छन् । मध्यपहाडी राजमार्गले यहाँको जनजीवन परिवर्तनमा ठुलो भूमिका खेलेको र पर्यटकीय रूपमा समेत चिनाउन मदत पुगेको वडा अध्यक्ष एक्कबहादुर पाण्डेले बताउनुभयो । साँखगाउँलाई पर्यटकीय हिसाबले अझ व्यवस्थित गर्न मुसिकोट नगरपालिका र वडा कार्यालय लागि परेका उहाँले बताउनुभयो । ‘साँखगाउँलाई पर्यटकीय हबको रूपमा विकास गर्न, साँख दह संरक्षण तथा भौतिक संरचना समेत निर्माणमा निरन्तर लागि रहेका छौँ, यस क्षेत्रमा पर्यटक भित्र्याई गाउँलाई आर्थिक रूपमा समृद्ध बनाउने हाम्रो योजना छ’ उहाँले भन्नुभयो ।
‘पर्यटन प्रवर्धन गर्न सङ्घीय, प्रदेश र स्थानीय तहले पहल गरेमा असम्भव भन्ने हुँदैन, यसमा सबैले हातेमालो गर्न आवश्यक छ । विभिन्न ठाउँबाट पर्यटकहरू आउन थालेपछि स्थानीय सरकारले सिङ्गो गाउँलाई नै होमस्टेको रूपमा विकास गर्ने योजना बनाएको छ, गाउँलाई होमस्टेको रूपमा विकास गर्ने, बिच गाउँमा रहको दह संरक्षण गर्ने, स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने वडाको मुख्य लक्ष्य रहेको छ, उहाँले थप्नुभयो ।’
पर्यटन प्रवर्धनका लागि दहलाई पानीले बाह्रै महिना भरिभराउ गर्न पानीको स्रोत खोजी भइरहेको उहाँको भनाई छ । दहमा लिफ्टिङ गरेर पानी ल्याउने र दहलाई भरिभराउ गराएर डुङ्गा सञ्चालन तथा माछा पालन गरी आर्थिक रूपमा मजबुत बनाउने योजनामा छौँ, उहाँले भन्नुभयो–पर्यटन प्रवर्धनको लागि साखँदहबाट ठुलीदसम्म केबलकार सञ्चालन गर्ने पनि योजना रहेको छ, केही वर्षमै योजना पुरा गर्छौँ र यहाँका स्थानीयलाई आर्थिक रुपान्तरणमा जोड्छौँ ।’
साँख दहलाई संरक्षण गर्न मुसिकोट नगरपालिका पनि लागि परेको छ । गत वर्ष मात्रै दह संरक्षणका लागि सङ्घीय सशर्त अनुदान अन्तर्गत ५४ लाखमा दहको चारैतिर पदमार्ग निर्माण, रेलिङ, प्रतीक्षालय र गेट निर्माण गरिएको थियो । त्यो भन्दा पहिले पनि दह नजिकै चौतारा, मन्दिर लगायतका संरचनाहरू निर्माण भएका छन् । यसबाट पनि पर्यटन प्रवर्धनमा टेवा पुग्नुका साथै सिङ्गो गाउँलाई फाइदा पुगेको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।