आगामी फागुन ७ गते देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि रुकुम पश्चिमबाट सहभागी हुने विद्यार्थी खेलाडी छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बुधवार बसेको समितिको बैठकले सानीभेरी गाउँपालिकामा सञ्चालन भएको जिल्ला स्तरीय शिल्डका आधारमा प्रदेश स्तरीय शिल्डको लागि विद्यार्थी खेलाडी छनोट गरेको हो ।
भलिबल, कबड्डी, हाइजम्प, लङजम्प त्रिपलजम्प, सटफुट ज्याभ्लिङ थ्रो, ३ हजार मिटर, १५ सय मिटर, आठ सय मिटर, चार सय मिटर, दुई सय मिटर र एक सय मिटर दौड प्रतियोगिताको लागि विद्यार्थी खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
यस्तै कराते र तेक्वान्दो तर्फका खेलाडी पनि शिल्डको लागि छनोट गरिएको छ । छात्र छात्रा भलिबल तर्फ खेल प्रदर्शनीको आधारमा ६ वटै स्थानीय तहबाट विद्यार्थी छनोट गरिएको हो । भने कबड्डीमा छात्र छात्रा तर्फ जिल्ला स्तरीय शिल्डमा सहभागी भएका आठबीसकोट, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिका विद्यार्थीलाई छनोट गरिएको छ ।
एकल विधामा भने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गरेका विद्यार्थी छनोट भएको कार्यालय सचिव ढकालले जानकारी दिनुभयो । भलिबल तर्फ छात्र ९, छात्रा ९ गरेर १८, कबड्डीमा छात्र ९, छात्रा ९ गरेर १८ , तेक्वान्दो तर्फ छात्र ६, छात्रा ६ गरेर १२, कराते तर्फ छात्र ६, छात्रा ६ गरेर १२ विद्यार्थी खेलाडी छनोट गरिएको छ । त्यस्तै रिले दौड तर्फ ६ छात्र, ६ छात्रा गरेर १२ र हाइजम्प, लङजम्प त्रिपलजम्प, सटफुट ज्याभ्लिङ थ्रो मा एक एक छात्र-छात्रा गरेर १० जना विद्यार्थी छनोट गरिएको हो ।
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सबै विधा गरेर ८२ विद्यार्थी खेलाडी छनोट गरिएको बताइएको छ ।