प्रभु बैङ्कले रुकुम पश्चिमको आठबिसकोट शाखामा भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै घटनाले बैङ्कको गम्भीर ध्यानाकर्षण भएको बताउँदै घटनामा संलग्न नीरजविक्रम शाहलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ । त्यस्तै आठबिसकोट शाखा कार्यालयमा निक्षेप भएको रकम अर्थात् बैङ्कको प्रणालीमा प्रविष्ट भएको निक्षेप रकम सुरक्षित रहेको जनाएको छ ।
त्यस्तै शाहले गैर कानुनी तवरले अन्य खातामा स्थानान्तरण गरेको रकम नियमानुसार रोक्का गरिसकिएको समेत जानकारी गराएको छ । साथै बैङ्कले आठबिसकोट शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग कारोबार तथा सेवाहरू साबिक बमोजिम नै नियमित रूपमा प्रवाह भइरहेको र ढुक्क भएर सेवा लिन सबै सेवाग्राहीलाई आग्रह पनि गरेको छ ।
आठबिसकोट शाखा कार्यालयमा कार्यरत कर्मचारी नीरज विक्रम शाहले गैर कानुनी तवरले खातामा रहेको रकम दुरुपयोग गरी सम्पर्क विहीन भएको जानकारी प्राप्त हुनासाथ बैङ्कले आन्तरिक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको छ, बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशाेक शेरचनले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
अप्रेसन इन्चार्जका रूपमा कार्यरत रहेका शाहले बैङ्कमा रहेको एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भन्दै प्रभु बैङ्कको प्रदेश कार्यालय सुर्खेतले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जाहेरी दिएको छ । उक्त घटनाको अनुसन्धान चलिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
शाह माघ २० गते देखि फरार छन् । उनीमाथि बचतकर्ताले जम्मा गरिदिनु भनि दिएकाे रकम जम्मा नगरको, विश्वास गरी निकालेर ल्याइदिनु भनेर चेक दिएका सेवाग्राहीको पैसा निकालेर अपचलन गरेको, खातामा रहेको पैसा अर्को खातामा पठाएको लगायतका आरोप लागेको छ ।