Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिका क्षेत्रमा यस वर्षदेखि चैते धानको उत्पादन
रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका ४ मा खेती गरिएकाे चैते धानकाे अवलाेकन गर्दै कृषि विकास कार्यालयकाे टाेली । फाइल फाेटाे ।

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकामा यस वर्षदेखि चैते धान उत्पादन हुने भएको छ । जग्गाको अधिकतम सदुपयोग गरी उत्पादनमा वृद्धि गर्न चैते धान उत्पादन सुरु गरिएको हो । यो वर्ष  परीक्षणका रूपमा ५५ रोपनी क्षेत्रफलमा धान रोप्ने तयारी गरिएको छ । चैत्र महिनामा धान रोप्न  ब्याड राखिएको छ ।

कृषि विकास कार्यालय र चौरजहारी नगरपालिकाको सहकार्यमा चैते धान लगाउने कार्यमा कृषकहरूलाई प्रेरित गरिएको हो । कृषकलाई चैते धानका लागि प्रेरित गर्न २३ घरपरिवार कृषकहरूलाई चैते धानको बिउँ वितरण गरिएको छ ।

चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा खेतीयोग्य जमिनको उपयोगलाई बढवा गर्ने नीति अघि सारेको थियो । त्यसैको कार्यान्वयनको एक पक्षका रूपमा चैते धान उत्पादनलाई लिइएको छ । दुई पटक धान रोप्न सकिने भएपछि उत्पादन वृद्धि भई कृषिको व्यवसायीकरणमा योगदान पुग्ने नगरपालिकाले विश्वास लिएको छ । खेतीयोग्य जमिनको अधिकतम सदुपयोगका लागि चैते धानको खेतीलाई एक महत्त्वपूर्ण पक्षका रूपमा लिइएको छ ।

जमिन, श्रम, पुँजी र प्रविधिको अधिकतम उपयोगले मात्र कृषि क्षेत्रको प्रवर्धन र आर्थिक वृद्धि तथा विकास हुने भएकोले थोरै जमिनमा धेरै उत्पादनको नीति अवलम्बन गर्न आवश्यक रहेको छ । ऐरेनी, मेलैनाउली, बीसमुरी, खोलागाउँ, खाराइरह लगायतका आसपासको क्षेत्र चैते धानका लागि उपयुक्त मानिएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update