रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा तीन दिनसम्म सञ्चालित जिल्ला स्तरीय अगुवा कृषकहरूको लागि हिउँदे फलफूल स्याउ, ओखर खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । एकीकृत कृषि तथा पशपंक्षी विकास कार्यालय रुकुम पूर्वको आयोजना तथा बागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाको प्राविधिक सहयोगमा गाउँपालिकाकाे वडा नम्बर १० तकमा सञ्चालन भएको तालिममा स्याउ र ओखर खेती सम्बन्धी नयाँ प्राविधिक कुराहरु सिकाइएको छ ।
कृषकका बगैँचामै पुगेर व्यावहारिक रूपमा कक्षा सञ्चालन गरिएको बताइएको छ । तालिममा ओखर तथा स्याउ लगाउने तरिका, खाडल कसरी बनाउने, बिरुवामा मल हाल्ने तरिका, बिरुवा काँटछाँट कसरी गर्ने लगायत बिरुवामा लाग्ने विभिन्न रोगका बारेमा कृषकलाई सिकाइएको छ । एकीकृत कृषि तथा पशपंक्षी विकास कार्यालयका प्रमुख पीताम्बर बस्नेतले कृषकका बारीमा पुगेर व्यावहारिक कक्षा सञ्चालन गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो ।
गाउँपालिकामा स्याउ तथा ओखर उत्पादन राम्रो हुने भएकोले तालिमको आयोजना गरिएको उहाँको छ । जिल्लामा गर्नुपर्ने कार्यक्रम भए पनि कृषकका बारीमा पुगेर व्यावहारिक कुरा सिकाउने उद्देश्यका साथ तकमा कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख बस्नेत बताउनुभयो । २० जना कृषक सहभागी रहेको तालिमको प्रशिक्षण वरिष्ठ वैज्ञानिक राजकुमार गिरीले गराउनु भएको थियो ।