१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यार्थीलाई रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सम्मान गरेको छ । विद्यार्थी र शिक्षकलाई नगरपालिकाको कार्यालय सेरिगाउँमा बोलाएर आज दोसल्ला, अबिर लगाएर सम्मान गरेको हो । गत माघ १६ देखि १९ गतेसम्म सानीभेरी गाउँपालिकाका वडा नम्बर ३ बेलटापुमा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पाँच स्थानीय तहलाई पछि पार्दै मुसिकोट नगरपालिकाले शिल्ड हात पारेको थियो ।
शिल्ड जितेको अवसरमा मुसिकोट नगरपालिकाले शिल्डमा सहभागी विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको मुसिकोट नगर कार्यपालिका प्रवक्ता समिरजङ मल्लले जानकारी दिनुभयो । साथै आगामी वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालनको लागि शिल्ड सहित झन्डा पनि मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख महेन्द्र केसी, उप प्रमुख विमलकुमार पुन लगायतले विद्यार्थी तथा शिक्षकलाई दोसल्ला र अबिर लगाएर सम्मान गर्नुभएको हो । शिल्ड विजेता खेलाडी तथा व्यवस्थापनमा खटिएका शिक्षक तथा अन्यलाई बधाई सहित धन्यवाद ज्ञापन गरिएको थियो । साथै अर्को वर्ष नगरमै हुने शिल्डका लागि तयारी गर्न समेत आग्रह गरिएको छ ।
१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विजेता मुसिकोट नगरपालिकाले आगामी वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने छ । शिल्डका लागि ठाउँ छनोट हुन भने बाँकी रहेको कार्यपालिका प्रवक्ता मल्लले जानकारी दिनुभयो ।