
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ का स्थानीयले पेल्मालाई सडक सञ्जालमा जोड्न सरकारसँग माग गरेका छन् । हुकाम, काजरजङ हुँदै पेल्मा जोड्ने सडकको काम छिटो अघि बढाउन माग गरिएको हो । पेल्मामा भएको सरकार, पार्टी र स्थानीय बिच भएको त्रिकोणात्मक अन्तरक्रिया कार्यक्रममा स्थानीयले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी तथा स्याउ बगैँचा घेरबार सम्बन्धी माग राखेका थिए ।
स्थानीय जनक रसाइलीले पेल्माको तातो पानीलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रूपमा प्रचारप्रसार गर्न सरकार समक्ष माग गर्नुभएको थियो । वडाको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको तातो पानी व्यवस्थित हुन सकेको छैन । तातो पानीमा नुहाउँदा छाला सम्बन्धी रोग निको हुने भएको हुँदा ओझेलमा रहेको तातो पानीलाई व्यवस्थित गरी प्रचारमा ल्याउन स्थानीयले सरकार समक्ष माग गरेका थिए ।
पेल्मा स्याउ उत्पादनको पकेट क्षेत्र भएको हुँदा स्याउ बगैँचा घेरबारको लागि बजेटको व्यवस्थापन गर्न पनि माग गरिएको थियो । पेल्मालाई स्याउ उत्पादन नमुना बस्तीका रूपमा चिनाउन प्रदेश सरकार लाग्नु पर्ने स्थानीय मनबहादुर पुनको माग छ। वडामा जीर्ण अवस्थाका विद्यालय भवनहरूलाई विस्थापित गरी नयाँ भौतिक संरचना निर्माण गर्न सरकार समक्ष स्थानीयको माग थियो ।
पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले पेल्मालाई सञ्चार सुविधामा जोडेको बताउनुभयो । चुनावी एजेन्डा मध्यको एउटा काम पुरा भएको उहाँले बताउनुभयो । स्थानीयहरूले राखेका अन्य मागहरूलाई स्थानीय सरकार प्रमुख भएको नाताले बिस्तारै सम्बोधन गर्दै लैजाने बताउनुभयो । विकास निर्माणका कामहरू एकै साथ नहुने हुँदा बिस्तारै माग अनुसार काम गर्दै जाने गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।
आउँदो वर्ष तातोपानी मुहान व्यवस्थापनको लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रदेश सभा सदस्य सुरुल पुनले बताउनुभयो । तातोपानी मुहानलाई प्रचारमा ल्याउन नसकेको उहाँले स्विकार्नु भयो । आगामी वर्षहरूमा बजेट व्यवस्थापन गरी महिला र पुरुषका लागी नुहाउने छुट्टा छुट्टै धाराको व्यवस्था गर्ने उहाँले आश्वासन दिनुभएको छ । यस्तै उहाँले आफ्नो कार्यकालसम्म पेल्मालाई सडक सञ्जालले जोड्न भूमिका खेल्ने बताउनुभयो । पेल्मालाई छिटै सडक सञ्जालले जोड्न नसकिने उहाँको भनाई थियो ।
आफ्नो कार्यकालसम्म पेल्मामा सडक पुर्याउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो । स्याउ बगैँचा घेरबारको लागि यो वर्ष ५० लाख बजेट विनियोजन गरिएको बताउनुभएको छ । उक्त रकम स्याउ बगैँचा घेरबारमा अपुग भएको खण्डमा आगामी वर्ष यसलाई निरन्तरता दिने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुन, पुथाउत्तरगङ्गा गाउँपालिका अध्यक्ष घर्ती, पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर शेर्पाली, माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा पुथाउत्तरगङ्गा इन्चार्ज जिताराम कामी, नेकपा माओवादी केन्द्र पुथाउत्तरगङ्गा अध्यक्ष हर्कबहादुर कामी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।