Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाको न्यायिक समितिबाट तेह्र विवाद मिलापत्र

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको न्यायिक समितिले  चालु आर्थिक वर्षमा १३ वटा विवाद समाधान गरेको छ । हार जीतको महसुस नहुनेतर्फ ध्यान नदिई जीत जीतको अवस्था सुनिश्चित गर्न मेलमिलापको माध्यमबाट विवाद समाधान गरिएको हो । न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने विभिन्न ४० विवाद दर्ता भएकोमा चार वटा विवाद जिल्ला सिफारिस गरिएको छ ।

दर्ता भएकामध्ये २३ विवादहरू भने प्रक्रियामा रहेका छन् । कतिपय विवादका पक्षहरू उपस्थित नहुने, उजुरी दर्ता गरेर पनि आपसी समझदारीमा मेलमिलाप गर्ने र त्यसको जानकारी नदिने लगायतका कारणले केही विवादहरू प्रक्रियामा रहेका छन् । आलीधुर, बाँध, पैनी, कुलो, बाली नोक्सान, चरन, घाँस, दाउरा लगायतका विवाद न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेको छ ।

ज्याला मजदुरी, पशुपंक्षी हराएको, ज्येष्ठ नागरिक पालनपोषण तथा हेरचाह नगरेको विवाद पनि न्यायिक समितिले समाधान गर्न पाउने व्यवस्था रहेको छ । अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको विषयमा परेका उजुरीमा न्यायिक समितिले विवाद मिलाउँदै आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयाे ।

उहाँका अनुसार गत आर्थिक वर्षमा ७७ विवाद दर्ता भएकोमा ३७ विवाद मिलापत्रको माध्यमबाट समाधान गरिएको थियो । छिटो न्यायका साथै आर्थिक खर्च नहुने भएपछि न्यायिक समितिमा उजुरीको सङ्ख्या बढ्दै गएको उहाँकाे भनाई छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update