Kakhara सबैको खबर सम्पूर्ण खबर
रिना-कालिमाया हत्या प्रकरणः न्याय माग्दै तारामान
क्याप्सनः पत्रकार सम्मेलनमा बोल्दै रिना र कालिमायाका बुवा तारामान बुढा ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका तारामान बुढा न्यायको माग गर्दै काठमाडौँसम्म पुग्नुभएको छ । गत वर्ष आफ्नी दुई छोरीको हत्या भएको र आफूहरूले न्याय नपाएको भन्दै तारामान काठमाडौँ पुग्नुभएको हो । रिपोटर्स क्लबमा पत्रकार सम्मेलन उहाँले आफ्नी दुई छोरीहरू ११ बर्सिया रिना र ९ बर्सिया कालिमायाले अहिलेसम्म न्याय पाउन नसकेको बताउनुभयो । 

२०७९ चैत्र २२ गते घरबाट सिस्ने टिप्न भन्दै निस्किएका दिदी बहिनी त्यसको भोलीपल्ट चैत्र २३ गते गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए । उनीहरूले लगाएका गहना लुटेर लिएको र शवको प्रकृति हेर्दा हत्या गरिएको देखिएको थियो । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न भएको आशङ्कामा सोही वडाका दुई बालिकालाई पक्राउ गरेको थियो । उनीहरू वडा नम्बर ४ को घुन्मा भन्ने ठाउँबाट पक्राउ परेका थिए । 

रिना र कालिमायाको हत्या आफूहरूले गरेको र सुन लुटेको बयान दिएको प्रहरीले जनाएको थियो । पक्राउ परेका बालिकाहरूले दिएको बयान अनुसार खानतलास गर्दा रिना र कालिमायाले लगाएका सुन भेटिएको तथा उनीहरूले घटना घटाएको प्रमाणहरू भेटिएपछि आफूहरूले सोही अनुसार मुद्दा बुझाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठको भनाई छ । प्रहरीले पुख्ता प्रमाणका आधारमा ती बालिका विरुद्ध मुद्धा अघि बढाइएको बताएको छ ।  

जिल्ला अदालतले ती दुई बालिकालाई घटनामा संलग्न भएको भन्दै ६ महिना बाल सुधार गृहमा राख्न फैसला गरेको थियो । त्यति बेला ती बालिकाहरू ११ र १३ वर्षका थिए । उनीहरू यति बेला सुधार गृहबाट निस्किसकेका छन् । 

उनीहरूले आफ्नी दुई छोरीको हत्या नगरेको भन्दै तारामान असली दोषी अहिले पनि खुलेआम हिँडिरहेको दाबी गर्नुहुन्छ । प्रहरीले असहयोग गरेका कारण खास दोषी पक्राउ पर्न नसकेको उनले पत्रकार सम्मेलनमा आरोप लगाउनुभयो । अदालतले दोषी ठहर्याएएका दुई बालिकालाई साथमा लिएर उहाँ यति बेला न्यायको माग गरिरहनुभएको छ ।

‘डर त्रास देखाएर यी नानीहरूलाई अभियोग स्विकार्न लगाइयो, खास हत्यारा यिनीहरू होइनन्, मेरा छोरीहरूलाई मार्ने अहिले पनि खुलेआम गाउँमा छन्, प्रहरीले सहयोग गर्दैन, न्याय नपाएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्न बाध्य भएको छु, उहाँले भन्नुभयो ।’ उहाँले आफ्ना दुई छोरीका हत्यारा भन्दै दुई पुरुष र एक महिलाको नाम समेत सार्वजनिक गर्नुभएको छ । न्यायको लागि सहयोग गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।  

रिना र कालिमायाको हत्या गरेको भन्दै अदालतले दोषी ठहर गरेका बालिकाहरूले पनि आफूहरूले हत्या नगरेको बताएका छन् । आफूहरू कामबाट फर्किने क्रममा स्थानीय तीन जनाले कालि र रिनाको हत्या गरी बोकेर ल्याइरहेको अवस्थामा देखेको र त्यसपछि उनीहरूले आफूहरूलाई पनि मार्छौँ भनेको तर आफूहरूले घटनाबारे कसैलाई नभन्ने र प्रहरी समक्ष हामीले हत्या गरेको हो भनेर स्विकार्न राजी भएपछि आफूहरूलाई छाडिएको उनीहरूको दाबी छ । 

आफूहरूले ज्यान जोगाउनका लागि प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेको दाबी उनीहरुको छ । ‘पहिला हामीले घटनाबारे स्विकार्न मानेका थिएनौ, तर हत्याराहरूले तिमीहरूलाई नि मार्छौँ, तिम्रो घर परिवारलाई पनि मारिदिन्छौँ भनेपछि हामी घटनाबारे स्विकार्न बाध्य भएका हौँ, पत्रकार सम्मेलनमा दुई मध्येकी एक बालिकाले भनिन ।’ 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update