रुकुम पश्चिममा नेपाल टेलिकमको फाइबर नेट प्रयोग गर्नेको सङ्ख्या बढेको छ । गत पुस २५ गते देखि नेपाल टेलिकमले पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पुर्याएर सेवा विस्तार भए सँगै रुकुम पश्चिममा फाइबर नेट प्रयोग कर्ताको सङ्ख्या बढेको हो । सेवा विस्तार भएसँगै जिल्ला सदरमुकाम खलङ्गा लगायत आसपासको क्षेत्रमा एनटी फाइबर नेट प्रयोग कर्ताको सङ्ख्या बढ्दै गएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदरमुकाम खलङ्गामा एनटी फाइबर नेट शुभारम्भ भएपछि ८० देखि ९० जना नयाँ प्रयोगकर्ता थपिएका छन् । दूरसञ्चारबाट हाल नयाँ पुराना गरेर तीन सय भन्दा बढी ग्राहकले सेवा लिइरहेका छन् । द्रुत गतिको फोन सहितको इन्टरनेट सेवा सञ्चालनमा आएसँगै प्रयोगकर्ताको सङ्ख्या पनि बढेको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।
हाल जिल्लामा ६ स्थानीय तह मध्य ३ स्थानीय तह मुसिकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा नेपाल टेलिकमको फाइबर नेटको पहुँच पुगेको छ । तर ती स्थानीयहरूमा पनि गाउँ गाउँमा भने सेवा विस्तार हुन बाँकी रहेको छ । एनटी फाइबर नेट सञ्चालनमा आएसँगै चौरजहारी तथा आठबिसकोट नगरपालिकामा सम्मान ८०/८० नयाँ प्रयोगकर्ता थपिएका छन् ।
एनटी फाइबर सेवा सञ्चालनमा आएसँगै प्रयोगकर्ता सङ्ख्या बढी रहेको कार्यालयको भनाई छ । एनटी फाइबर नेटको पहुँच नपुगेका स्थानीय तह सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा पनि सेवा विस्तारको लागि कार्यालयको तर्फबाट पहल भइरहेको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । नेपाल टेलिकमले न्यूनतम २५ एमबीपीएस देखि २ सय एमबीपीएससम्म इन्टरनेट सहित फोन सेवा उपलब्ध बनाउँदै आएको छ ।