रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकासँग दुई पालिकाले असल अभ्यास आदानप्रदान गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका र पर्वतको जलजला गाउँपालिकाको टोलीसँग असल अभ्यास आदानप्रदान गरिएको हो । शनिवार रैनादेवी छहरा गाउँपालिका र आइतबार जलजला गाउँपालिकाको टोली चौरजहारी नगरपालिकामा आएको थियो ।
असल अभ्यास अवलोकन भ्रमण र न्यायिक समितिको कार्यसम्पादन लागि उपाध्यक्षको नेतृत्वमा टोली चौरजहारी पुगेको चाैरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयाे । उहँका अनुसार रैनादेवी छहरा गाउँपालिका पाल्पाका उपाध्यक्ष युवराज थापा र जलजला गाउँपालिका उपाध्यक्ष दीपक आचार्य सहितको टोलीलाई चौरजहारी नगरपालिका उपप्रमुख इश्वरीकुमारी शर्मा बि.एम्. ले स्वागत गर्नुभएको थियो ।
चौरजहारी नगरपालिकाले सञ्चालन गरेका असल अभ्यासको प्रस्तुतीकरण गरिएको थियो । सामाजिक, आर्थिक र पूर्वाधार विकासका साथै वातावरण तथा विपत् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रमा चौरजहारी नगरपालिकाका असल अभ्यासका बारेमा निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले प्रस्तुतीकरण गर्नु भएको हो ।
अनुभव आदान प्रदानका क्रममा न्यायिक समितिको कार्यसम्पादन प्रक्रियाका बारेमा पनि छलफल गरिएको थियाे । आपसी हित तथा भातृत्वको विकासका लागि अन्तरपालिका अनुभव आदानप्रदान फलदायी भएको विश्वास गरिएको छ ।